रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्न ४१ हजार ४० रुपैयाँ चाहिने, कहिले खुला ?


काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको अनुमति पाएको छ । यससँगै कम्पनीको आईपीओमा आवेदन दिन ४१ हजार ४० रुपैयाँ चाहिने भएको हो । पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी प्रक्रिया रोक्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आईपिओ निष्काशन हुने भएको हो ।

बुकबिल्डिङ्ग विधि अनुसार न्यूनतम ५० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने प्रावधान अनुसार अब लगानीकर्ताले आईपीओ भर्न प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ गत वर्षको असारदेखि रोकिएको थियो । अदालतको आदेश पछि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्नेबारे तयारी भइरहेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । यद्यपी मिति भने तय गरिएको छैन ।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने आउने १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । सो मध्येबाट कम्पनीले सर्वसाधारणका लागि ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि गत माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयरका लागि कबोल पेस गरेका थिए ।

रिलायन्सको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले पेस गरेको बोलपत्र माघ १५ गते खोलिएको थियो भने २०८१ असार २७ गतेदेखि रिलायन्सले वैदेशिक रोजगारीमा जानेका लागि आईपीओ खोल्ने तयारी गरेको थियो । वैदेशिक रोजगारीमा जानेका लागि आईपीओ निष्काशन गर्नुभन्दा एकदिन अघि मात्रै धितोपत्र बोर्डले कम्पनीको आइपीओ प्रक्रिया रोकेको थियो ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरेको सेयरमा ६४ वटा आवेदन दिएका थिए । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ थियो । ९१२ को १० प्रतिशत कम मूल्य अर्थात प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने अनुमति गत असारमै पाएको थियो ।

तर, २०८१ असार १२ मा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने स्वीकृत पाए पनि त्यसका विरुद्ध उजुरी परेपछि प्रक्रिया रोकिएको थियो ।

रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने दोस्रो कम्पनी हो । यसअघि सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरमा पहिलो कम्पनीको रुपमा आईपीओ बिक्री गरेको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।