कारोबारको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै उपसुचक राताम्मे


काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ अंकमा पुगेको छ ।

आइतबार ८९ हजार ७३१ पटकको कारोबारमा १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयरहरु ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँमा किनबेच भएका छन् ।

गत साता कारोबार भएको अन्तिम दिन बुधबार नेप्से १३.५२ अंकले घटेर २६३१.१७ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँ पुगेको थियो ।

आइतबार सबै उपसुचकमा गिरावट आउँदा सबैभन्दा बढी जलविद्युत समूह १.२२ प्रतिशतले घटेको छ । व्यापार समूह १.२१ प्रतिशतले घटेको बजारमा होटल तथा पर्यटन समूह १.२० प्रतिशत, लघुवित्त समूह १.०४ प्रतिशत र वित्त समूह १ प्रतिशतले घटेको छ ।

समग्र बजार घट्दा पनि स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यता, बुङ्गल हाइड्रोको सेयर मूल्य ८.५१ प्रतिशतले घट्दा माबिलुङ इनर्जीको सेयर मूल्य ६.९८ प्रतिशत, सागर डिष्टिलरीको सेयर मूल्य ६.९० प्रतिशत, मिथिला लघुवित्तको सेयर मूल्य ५.९० प्रतिशत र नारायणी विकास बैंकको सेयर मूल्य ५.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा सागर डिष्टिलरी ४३ करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

कारोबारमा आएको इकाई संख्याको आधारमा ङ्यादी गु्रप ८ लाख ८ हजार ५३१ इकाईको कारोबार सहित अग्रस्थानमा रहँदा कारोबार संख्याको आधारमा २१ हजार ३७० पटकको कारोबार सहित सागर डिष्टिलरी शीर्षस्थानमा रहेको छ ।

आइतबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ८१ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । गत साता कारोबार भएको अन्तिम दिन बुधबार बजार पूँजीकरण ४४ खर्ब १७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।