यो साता २३.८ अंकले घट्यो नेप्से, स्वस्तिकको सेयर मूल्यमा सधै सकारात्मक सर्किट !


काठमाडौँ । यो साताको कारोबारमा नेप्सेमा उतारचढावको बिच गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार (आज) नेप्से १.६६ अंकले घटेर २६०७.३७ अंकमा पुगेको छ ।

गत साताको कारोबारको अन्तिम दिन १३.५२ अंकले घटेर २६३१.१७ अंकमा पुगेको थियो । गत साताको बिहीबारदेखि आज एक साताको अवधिमा नेप्से परिसूचक २३.८ अंकले घटेको छ । सबै कारोबार दिनमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

कुन दिन कतिले घट्यो नेप्से ?

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आउँदा नेप्से २१.४८ अंकले घटेर २६०९.६९ अंकमा पुगेको थियो । सोमबार ३.०२ अंक र बुधबारको कारोबारमा नेप्से ५.०३ अंकले ओरालो लाग्यो । मंगलबार भने नेप्से ७.३९ अंकले बढेको थियो । बिहीबार पनि बियरिस टे«ण्ड कायम रहँदा बजार घटेर नै बन्द भएको छ ।

कारोबार रकम पनि घट्यो

गत साता कारोबार भएको अन्तिम दिन बुधबार ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएकोमा यो साताको अन्तिम कारोबार दिन बिहीबार ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार कारोबार रकम ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ पुगेको थियो । त्यसपछिका कारोबार दिनमा भने कारोबार रकममा लगातार गिरावट आएको छ । सोमबार ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको थियो । मंगलबार कारोबार रकममा थप गिरावट आउँदा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँका सेयर किनबेच भएका थिए । बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँको कारोबार भएको थियो ।

देशमा देखिएको राजनीतिक अनिश्चितताले गर्दा लगानीकर्ताहरुमा आशा भन्दा पनि डर हावी हुँदा बजार लगातार घटेको सेयर बजारका जानकारहरू बताउँछन् ।

निर्वाचनको माहोल सुनिश्चित नहुँदासम्म लगानीकर्ताको मनोबल बढ्न नसक्ने उनीहरूको बुझाइ छ ।

ब्रोकर एसोसिएसन अफ नेपालका पुर्वअध्यक्ष भरत रानाभाट देशभर आन्दोलन हुँदा, व्यापारिक गतिविधिमा अवरोध हुँदा र राजनीतिक भविष्य अनिश्चित हुँदा लगानीकर्तामा डरको वातावरण सिर्जना भएको बताउँछन् ।

‘यो डर हटाउन नीतिगत सुधारले तत्काल काम गर्दैन । राजनीतिक माहोल सुदृढ हुनुपर्छ,’ उनी भन्छन्,‘अर्थतन्त्रमा बाह्य क्षेत्र र वित्तीय नीतिहरुमा गरिएको सुधार आफैँमा महत्वपूर्ण छ । तर पूँजी बजार विश्वासले मात्रै चल्छ ।’

यी हुन् सबैभन्दा बढी मूल्य बढेका कम्पनीहरू

साताभरिको कारोबारमा समग्र बजार घट्दा पनि स्वस्तिक लघुवित्तले आफ्नो वचस्र्व कायम राखेको छ । साताभरि कारोबार भएका सबैदिन स्वस्तिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर लगातार सकारात्मक सर्किट लागेको छ ।

आइतबार स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेकोमा सोमबार अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । मंगलबार स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेकसँगै माथिल्लो मौलुङ खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । बुधबार स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । बिहीबार स्वस्तिकसँगै एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कुन कम्पनीको सेयर सबैभन्दा बढी घट्यो ?

आइतबार बुङगल हाइड्रोको सेयर मूल्य ८.५१ प्रतिशतले घट्दा माबिलुङ इनर्जीको सेयर मूल्य ६.९८ प्रतिशतले घटेको थियो । सोमबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ५.१६ प्रतिशतले घटेको थियो । मंगलबार हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ३.८८ प्रतिशतले घट्दा मिथिला लघुवित्तको सेयर मूल्य ३.४६ प्रतिशतले घटेको थियो । बुधबार झापा इनर्जीको सेयर मूल्य सबैभन्दा बढी ९.३० प्रतिशतले घटेको थियो । बिहीबार मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ८.४२ प्रतिशतले घटेको छ ।

कुन कम्पनीको भयो सबैभन्दा बढीको कारोबार ?

साताभरिको कारोबार रकममा ङ्यादी ग्रुप पावरले आफ्नो वचस्र्व कायम राखेको छ । गु्रप सोमबार मंगलबार र बिहीबार कारोबार रकमको शीर्षस्थानमा कायम भएको थियो । आइतबार कारोबार रकमको आधारमा सागर डिष्टिलरी ४३ करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको थियो । सोमबार ५५ करोड ८६ लाख ६७ हजार रुपैयाँ र मंगलबार ३१ करोड ९२ लाख ६ हजार रुपैयाँको कारोबार सहित ङ्यादी ग्रुप पावर शीर्षस्थानमा रहेको थियो । बुधबार श्रीनगर एग्रिटेक २६ करोड ३९ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको थियो । बिहीबार ङ्यादी ग्रुप पावर १८ करोड ९७ लाख १६ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

नेप्से घट्दा बजार पूँजीकरणमा पनि गिरावट
गत साता कारोबार भएको अन्तिम दिन बुधबार बजार पूँजीकरण ४४ खर्ब १७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ कायम भएको थियो । यो साताको अन्तिम कारोबार दिन बिहीबार बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड २३ लाख रुपैयाँ कायम भएको छ । आइतबार कूल बजार पूँजीकरण ४३ खर्ब ८१ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ कायम भएको थियो । सोमबार बजार पूँजीकरण ४३ खर्ब ७६ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ कायम हुँदा मंगलबार कूल बजार पूँजीकरण ४३ खर्ब ८९ अर्ब ८ करोड १७ लाख रुपैयाँ कायम भएको थियो । बुधबारको कारोबारसँग बजार पूँजीकरण ४३ खर्ब ८० अर्ब ६२ करोड २९ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  १७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।