धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय क्षेत्र


काठमाडौं । वाणिज्य तथा विकास बैंकहरूले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई दिने लाभांश क्रमशः सार्वजनिक गरिरहेका छन्। नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेसँगै बैंकहरूले निक्षेप, कर्जा र वित्तीय सेवाबाट कमाएको मुनाफाको हिस्सा लाभांशको रूपमा वितरण गर्ने कामले तीव्रता पाएको हो।

अहिलेसम्म १३ वाणिज्य बैंक र ८ विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। तर सबै बैंकको नतिजा सकारात्मक छैन। कुमारी बैंकले लगातार दोस्रो वर्ष पनि सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बैंकले कार्तिक २६ गतेको बैठकबाट गत वर्षको नाफाबाट कुनै वितरण नगर्ने निर्णय गरेको हो।

अन्य बैंकहरूले भने आकर्षक दरमा लाभांश सार्वजनिक गर्दै वार्षिक साधारणसभा सम्पन्न गरिरहेका छन्। वाणिज्य बैंकतर्फ एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश वितरण गरी सबैभन्दा उदार देखिएको छ। सिद्धार्थ बैंकले १०.५३ प्रतिशत लागत घोषणा गरेकोमा एनएमबि बैंकले १० प्रतिशत, नेपाल एसबीआईले ९ प्रतिशत, ग्लोबल आइएमईले ८ प्रतिशत नगदमात्र लाभांश घोषणा गरेका छन् ।

यस्तै, माछापुच्छ्रे बैंकले ८ प्रतिशत, सिटिजन्सले ५.२३ प्रतिशत, सानिमाले ७.३७ प्रतिशत नगदमात्र, स्ट्यान्डर्ड चार्टर्डले १९ प्रतिशत नगदमात्र, लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत र कृषि विकास बैंकले १३ प्रतिशत लाभांश घोषणा गरेका छन्।

विकास बैंकतर्फ पनि लाभांश घोषणा रोचक छ। मुक्तिनाथ विकास बैंकले यस वर्ष १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद गरी कुल १८.२ प्रतिशत वितरण गर्दै पुनः उच्च लाभांश दिने बैंकमध्ये आफ्नो स्थान सुरक्षित राखेको छ। कामना सेवा विकास बैंकले १५.७८ प्रतिशत, गरिमा विकास बैंकले १०.५३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत नगदमात्र, शाइन रेसुङ्गाले १३ प्रतिशत, महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकले ८.४६ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५ प्रतिशत लाभांश सार्वजनिक गरेका छन्।

यता केही बैंकले साधारण सभा सकेर लाभांश पारित गरिसकेका छन् भने केहीले बुक–क्लोज र साधारण सभाको मिति सार्वजनिक गर्ने क्रममा छन्। धेरै बैंकहरूको लाभांश दर अघिल्लो वर्षको तुलनामा केही घटेको देखिए पनि लाभांश वितरण प्रक्रियामा गतिशीलता देखिएको विश्लेषकहरू बताउँछन्। बाँकी बैंकहरूको घोषणा अझै आउन बाँकी भएकाले सेयर बजारमा लगानीकर्ताको ध्यान त्यसतर्फ केन्द्रित हुन थालेको छ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।