काठमाडौँ । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेश सलुशनले विकास गरेको, एजेन्टिक एआईमा आधारित सामुहिक सञ्चार प्लेटफर्म ‘गम्प’ एक विश्व सम्मेलनका क्रममा उत्कृष्ट ५ प्रविधिको रुपमा छनौट भएको छ ।
अमेरिकाको लास भेगासमा आयोजित एडब्लुएस रि इन्भेन्ट २०२५ का दौरान, अमेजन वेब सर्भिसेज (एडब्लुएस) र अन्तरराष्ट्रिय प्रविधि वितरक इन्ग्राम माइक्रोको संयुक्त आयोजनामा भएको एडब्लुएस शार्क ट्याङ्क प्रतिस्पर्धामा विश्वभरिका कम्पनीहरुले सहभागिता जनाएका थिए ।
जेनेस सलुशनले बैंक तथा फिनटेक संस्थाहरूलाई समयोचित, प्रासङ्गिक र व्यक्तिगत सन्देशमार्फत ग्राहकसँग प्रभावकारी ढङ्गले संलग्न हुन मद्दत गर्ने कृत्रिम बुद्धिमत्तामा आधारित गम्प प्लेटफर्म प्रस्तुत गरेको थियो। जेनेसद्वारा विकसित प्लेटफर्मलाई साना तथा मध्यम उद्यम बजारका लागि शीर्ष ५ एजेन्टिक एआई समाधान मध्ये एकका रूपमा स्थान दिइएको हो। प्रतियोगितामा न्यूजील्यान्ड, अष्ट्रेलिया, क्यानडा र अमेरिकी कम्पनीहरूसँगै जेनेस पनि अन्तिम सूचीमा परेको थियो।
“हामीले विकास गरेको प्लेटफर्मबारे आएको प्रतिक्रियाबाट हामी निकै उत्साहित छौं । विश्व बजारमा यसका सम्भावनाबारे धेरै चासो देखाइएको छ,” जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भनीन्। उनका अनुसार यो प्रतियोगिता जेनेसका क्षमता र उपलब्धिहरूलाई विश्वकै प्रतिस्पर्धी मंचमा प्रस्तुत गर्ने उत्कृष्ट अवसर थियो।
जेनेस सलुशनका मुख्य प्रविधि तथा मुख्य सूचना सुरक्षा अधिकारी निरञ्जन कुँवरले गम्पले जेनेसका इञ्जिनियर र डेभलपरहरूको प्रतिस्पर्धात्मक क्षमतालाई विश्वस्तरमै पुष्टि गरेको बताए। “हामीले विकास गरेको प्लेटफर्मलाई विश्व बजारमा यसरी स्वीकारिएको देख्दा निकै खुशी लाग्यो,” उनले भने।
एडब्लुएस रि इन्भेन्ट २०२५ ले एआई सहायकहरुबाट स्वतःनिर्णय लिन सक्ने, कैयौं दिनसम्म स्वतन्त्र रूपमा काम गर्न सक्षम स्वायत्त एजेन्टहरुतर्फको ऐतिहासिक रूपान्तरणको संकेत दिएको छ ।
डिसेम्बर १ देखि ५ सम्म आयोजित सम्मेलनमा ५०,००० भन्दा बढी सहभागी प्रत्यक्ष उपस्थित थिए भने लाखौंले भर्चुअली सहभागिता जनाएका थिए। सम्मेलनमा एडब्लुएसले एआइमा आधारित भएर विकास गरेका अत्याधुनिक प्रविधिहरुको पनि प्रदर्शन गरिएको थियो।
सम्मेलनमा एडब्लुएसले एआइमा आधारित भएर विकास गरेका जटिल र बहुदिने परियोजनाहरूमा स्वतन्त्र रूपमा काम गर्न सक्ने तीन विशेष “फ्रन्टियर एजेन्ट” सार्वजनिक गरेको थियो ।












प्रतिक्रिया