काठमाडौँ । इन्टेरियर, फर्निचर तथा काष्ठ उद्योग क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ यही पुष ४, ५ र ६ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको यस प्रदर्शनीको यो एघारौँ संस्करण हो।
आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहनेछन्। इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी सामग्रीको उल्लेखनीय सहभागिता रहनेछ। विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रदर्शनी काठ व्यवसायसँग सम्बन्धित नवीन प्रविधि र उत्पादनबारे जानकारी दिने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदै आएको आयोजकले जनाएको छ।
यस संस्करणमार्फत अन्तर्राष्ट्रिय स्तरमा सफल र अत्याधुनिक प्रविधि तथा उत्पादनलाई नेपाली बजार र स्वदेशी उद्योगमा भित्र्याउने लक्ष्य लिइएको छ। यसले साना देखि ठूला उद्योगसम्मलाई प्रयोगमा रहेका मेसिनरी तथा प्रविधि उन्नयन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएशन नेपाल सहयोगी संस्थाका रूपमा रहनेछन्। साथै, इन्टेरियर डिजाइनर एसोसिएशन नेपालका विज्ञहरूद्वारा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम पनि आयोजना हुनेछ।
घर निर्माणकर्ता, आम उपभोक्ता, आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहने यस प्रदर्शनीले नेपालमा काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।












प्रतिक्रिया