काठमाडौँ । सरकारले ब्याज अनुदानसहित सहुलियतमा उपलब्ध गराउँदै आएको ऋणबाट लाभ लिने ऋणीको संख्या क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सहुलियत ऋण लिनेको संख्या तीन वर्ष यता कै कम रहेको छ ।
चालु आवमा विभिन्न शीर्षकमा ८३ हजार ६६ जनाले सहुलियत ऋण लिएका छन् । उक्त ऋणीहरूले जम्मा ६६ अर्ब १५ करोड ७ लाख रुपैयाँ ऋण लिएका छन् । जबकी सो रकम तीन वर्ष यता कै कम हो ।
गत आव २०८१/८२ को चार महिनामा ७८ अर्ब ६६ करोड २ लाख रुपैयाँ बराबरको ९४ हजार ९२० जनाले ऋण लिएका थिए भने अघिल्लो आव २०८०/८१ मा १ लाख २० हजार जना ऋणीहरुले १ खर्ब २६ अर्ब ८१ करोड ९ लाख रुपैयाँ ऋण लिएका थिए ।
बैंकका अनुसार सबैभन्दा धेरै ऋण कृषि क्षेत्रमा लगानी भएको छ । चार महिनामा कृषि कर्जामा ३१ हजार ६७९ जनाले ५० अर्ब १ करोड ९ लाख रुपैयाँ ऋण लिएका छन् । कृषि कर्जामा ऋण लिनेको संख्यामा पनि गत वर्षको तुलनामा ४ हजार १८२ जना कमि आएको छ भने ऋण रकममा ७ अर्ब ५२ करोड ७ लाख रुपैयाँले कमी आएको छ । गत वर्ष ३५ हजार ८६१ जना ऋणीहरुले ५७ अर्ब ५४ करोड ६ लाख रुपैयाँ ऋण लगानी भएको थियो ।
त्यस्तै, अर्को सहुलियत कर्जा महिला उद्यमी ऋणमा ५० हजार २५० जनाले १५ अर्ब ३२ करोड ६ लाख रुपैयाँ ऋण लिएका छन् । गत वर्षको तुलनामा ७ हजार ३८६ जना कम भने ऋण लिएका छन् भने रकमको आधारमा ४ अर्ब ७६ करोड ७ लाख रुपैयाँ कम ऋण परिचालन भएको हो । गत वर्ष यसमा ५७ हजार ६३६ जनाले २० अर्ब ९ करोड ३ लाख रुपैयाँ ऋण परिचालन भएको थियो ।
ऋण लिनेको संख्याका आधारमा हेर्ने हो भने महिला उद्यमशील कर्जामा ऋण लिनेको संख्या कृषि कर्जा भन्दा धेरै देखिएको छ । तर रकमका आधारमा कृषि कर्जा धेरै ऋण लगानी भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै, उच्च प्राविधिक शिक्षा अध्ययनका लागि सर्टिफिकेट धितोमा उपलब्ध हुने भनिएको कर्जामा हालसम्म ५० जनाले ६ लाख रुपैयाँ ऋण लिएका छन् भने शिक्षित युवा स्वरोजगार ऋणमा ९१ जनाले १ करोड २ लाख रुपैयाँ ऋण लिएका छन् ।
कपडा उद्योगका लागि ऋण लिने ऋणीहरु ८२ जनाले ६० करोड १ लाख ऋण लिएका छन् भने दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत ४८५ जनाले ११ करोड ६ लाख ऋण लिएका छन् । त्यस्तै, सरकारले युवा फर्कन आप्रवासी कामदारहरुको लागि परियोजना ऋणको व्यवस्था पनि गरेको छ । सो कर्जामा ३९७ जनाले ७ करोड १ लाख रुपैयाँ ऋण लिएको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया