काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले डिजिटल डिसेम्बर २०२५ – इम्पावरिङ इन्टरप्राइजेज अभियान अन्तर्गत प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित नवप्रवर्तन विस्तारका लागि आद्यन्त एडभाइजरी प्राइभेट लिमिटेड र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) सँग सहकार्य गर्दै समझदारीपत्रमा हस्ताक्षर गरेको छ। सातौँ वर्षमा प्रवेश गरेको डिजिटल डिसेम्बर प्रारम्भमा डिजिटल सचेतना अभियानका रूपमा सुरु भई अहिले उद्यम रूपान्तरणको रणनीतिक मञ्चका रूपमा विकसित भएको छ।
बैंकका अनुसार सो समझदारीबाट उद्यमहरूलाई नगद तथा चेक प्रयोगमा निर्भर कारोबारलाई सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने लक्ष्य लिइएको छ। साथै बैंकिङ सेवालाई उद्यम संचालन प्रणालीमा एकीकृत गर्ने, एपीआई (एपीआई सक्षमकरण), प्लेटफर्म कनेक्टिभिटी तथा होस्ट–टू–होस्ट कनेक्टिभिटीमार्फत व्यवसायिक विस्तारलाई सहज बनाइनेछ। यसबाट नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीलाई बैंकिङ पूर्वाधारसँग जोड्दै पूँजी पहुँच, परामर्श तथा सीप विकासको अवसर प्रदान गरिनेछ।
सो सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने सिडिङ एण्ड स्केलिङ इनोभेसन्स, कोड फर इम्प्याक्ट ह्याकाथन तथा युएस–नेपाल कमर्सियल डिप्लोमेसी डिस्केशन सिरिज जस्ता कार्यक्रममार्फत सातै प्रदेशका करिब ४ सय युवालाई सहभागी गराउँदै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, फिनटेक तथा जलवायु क्षेत्रमा एआई आधारित समाधान विकासलाई प्रोत्साहन गर्नेछ।
लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत अवयवका रूपमा परिचालन गर्दै आगामी वर्षहरूमा अझ व्यापक सहकार्य र नवप्रवर्तन समर्थन कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।












प्रतिक्रिया