नेपाल क्लियरिङ हाउसद्वारा राष्ट्रिय कार्ड योजना विदेशमा समेत स्वीकार्य


काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेडले राष्ट्रिय भुक्तानी स्विच अन्तर्गत रहेको राष्ट्रिय कार्ड स्विच र राष्ट्रिय कार्ड योजना पूर्ण रुपमा सञ्चालनमा आएको घोषणा गरेको छ। उक्त घोषणासँगै नेपालमा जारी गरिने स्वदेशी कार्डहरू अब नेपालको भुक्तानी प्रणालीमा मात्र सीमित नरही विश्वका १ सय ९० भन्दा बढी देश तथा क्षेत्रमा समेत प्रयोग गर्न सकिने भएको छ। यसले गर्दा देशभित्रको डिजिटल भुक्तानी प्रणालीलाई अन्तरराष्ट्रिय स्तरमा पहुँच दिने महत्वपूर्ण आधार तयार भएको छ।

राष्ट्रिय कार्ड योजनाको विस्तारसँगै नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै पहिचानसहितको स्वदेशी कार्ड जारी गर्न सक्ने छन्, जसले विदेशी कार्ड प्रयोग गर्दा लाग्ने शुल्क तथा निर्भरता घटाउनेछ। साथै, कार्ड प्रयोगकर्ताले नेपाल तथा विदेशका एटिएम र पोइन्ट अफ सेल मेसिनहरूमा सहज र सुरक्षित रुपमा कारोबार गर्न सक्नेछन्।

हालसम्म ३ दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू यस कार्यक्रममा आबद्ध भइसकेका छन् भने अन्य संस्थाहरू समेत सञ्चालन तथा सदस्यताका प्रक्रियामा रहेका छन्। राष्ट्रिय कार्ड योजना भित्र कार्ड कारोबारको आपसी अन्तरजोड, राउटिङ, सेटलमेन्ट, विवाद समाधान र एकीकृत प्रतिवेदन जस्ता सुविधाहरू समावेश गरिएको छ, जसले वित्तीय कारोबारलाई छरितो, पारदर्शी र भरपर्दो बनाउने जनाएको छ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानका अनुसार, यस परियोजनाले नेपालको डिजिटल यात्रामा संरचनागत रूपान्तरण ल्याएको र स्वदेशी कार्ड योजनाले खर्च बचत, डाटा स्थानीयकरण र नवप्रवर्तन प्रवर्द्धनमा सहायक हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  १६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।