आइपीओकाे तयारीमा नोबेल कलेज हेल्थ एण्ड एजुकेशन फाउण्डेशन


काठमाडौँ। नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर आइपीओ निष्काशन गर्ने तयारी गरेको छ। विद्यमान नियमावली अनुसार आवश्यक स्वीकृति प्राप्त गरी सार्वजनिक निष्काशन प्रक्रियामा जाने लक्ष्यका साथ कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

३ अर्ब ५० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले करिब २८.५७ प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने तथा ७१.४३ प्रतिशत संस्थापक समूहमै रहने जनाएको छ।

फ्रन्टलाइन ब्राण्ड नामबाट पुरानो बानेश्वर, काठमाडौँमा सञ्चालित १०० शैयाको अस्पतालले सेवा विस्तारका लागि २०० शैया क्षमताको आधुनिक जनरल तथा क्यान्सर अस्पताल निर्माणकार्य अघि बढाइरहेको र सोही लागि थप पूँजी आवश्यक परेकाले प्रक्रिया अघि सारिएको अध्यक्ष नवराज पाण्डेले जानकारी दिए।

स्वास्थ्य सेवा तथा नर्सिङ, फार्मेसी लगायत शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको फाउण्डेशनको स्थापना विसं २०६२ मा भएको हो। हाल वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा माथि रहेको र २०० भन्दा बढी जनशक्ति कार्यरत रहेको कम्पनीले जनाएको छ।

सम्झौतामा फाउण्डेशनको तर्फबाट अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  १२ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।