काठमाडौँ । गत असार २४ को बाढीका कारण चीनतर्फको मुख्य नाका रसुवागढी ६ महिनासम्म बन्द हुँदा व्यापार ठप्प भयो । यसरी लामो समय नाका बन्द हुँदा सरकारले अर्बौँ रुपैयाँ राजस्व गुमाएको छ भने निर्यात व्यापार शून्यमा झरेको छ ।
रसुवा भन्सार कार्यालयको तथ्यांक हेर्दा ६ महिनाको अवधीमा केही मात्रामा आयात भएको देखिए पनि निर्यात भने शून्य नै रहेको देखिन्छ । कार्यालयका अनुसार यो अवधिमा मानिसहरुले बोकेर ल्याउने बाहेक अरु आयात निर्यात पूर्ण रुपमा बन्द भएको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा रसुवागढी नाकाबाट अर्बौँको वस्तु निर्यात हुने गरेकोमा यस वर्ष निर्यात ठप्प भएको हो । गत आव २०८१/८२ को मंसिर महिनासम्ममा नै नेपालबाट चीनतर्फ १ अर्ब ४७ करोड ७५ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । त्यस्तै, अघिल्लो आव २०८०/८१ को सोही अवधिमा ५७ करोड १० लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
नेपाल चीनबीचका ७० प्रतिशत व्यापारिक गतिविधि हुने रसुवागढी नाका बन्द हुँदा आयातकर्ताले ठूलो सास्ती खेप्नु परेको छ भने बजारमा चिनियाँ समानको मूल्यवृद्धि हुँदा उपभोक्ता पनि मारमा परेका छन् ।
बाढीले दुई देशलाई जोड्ने मितेरीपुल बगाउनुका साथै नेपालतर्फको सडकमा पनि उल्लेख्य क्षति पुगेको थियो ।
६ महिनामा २१ अर्ब राजस्व घाटा
प्रमुख उत्तरी नाका (रसुवागढी) लामो समय बन्द हुँदा राज्यकोषमा ठूलो धक्का लागेको छ । भन्सार कार्यालयका प्रमुख तुलसी प्रसाद भट्टराईका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा २१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर बाढीका कारण नाका बन्द हुँदा कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन ।
रसुवागढी नाकाले झन्डै २१ अर्ब रुपैयाँ बराबरको राजस्व गुमाएको छ भने सरकारको वार्षिक राजस्वको लक्ष्य प्राप्तिमा यसले ठूलो अवरोध सिर्जना गरेको छ । ‘असारको बाढीले भन्सार जाँचपास भएर बसेका कन्टेनरहरू समेत बगाउँदा व्यवसायीहरूले ठूलो भौतिक र आर्थिक नोक्सानी बेहोर्नुपरेको थियो,’ उनले भने ।
मुख्य नाका बन्द हुँदा ७३ प्रतिशतले घट्यो निर्यात
मुख्य नाका बन्द हुँदा समग्र चीनतर्फको व्यापारमा भारी गिरावट आएको छ । गत आर्थिक वर्षको मंसिरसम्ममा एक अर्ब ७४ करोड ५८ लाख रुपैयाँको सामान निर्यात भएकोमा यस वर्ष निर्यात ७३.२६ प्रतिशतले घटेर ४६ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ ।
चीनतर्फको नाका बन्द रहेका कारण व्यापार प्रभावित भए पनि आयातभन्दा निर्यात बढी प्रभावित हुनुले चीनसँगको व्यापारमा आधारभूत समस्या रहेको पुष्टि हुने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन् ।
‘बाढीका कारण कन्टेनरहरु बगाउँदा क्षति त यसै भएको थियो । त्यस्तै नाका बन्द भएर लोड भएका सामान आउन नपाउँदा कतिपय सामानहरू नष्ट भए/कुहिने फलफूलहरु फालिए । यस्तो हुँदा ठूलो घाटा व्यहोर्नु परेको छ,’ उनले भने ।
‘आयात निर्यातका लागि वैकल्पिक बाटो मुस्ताङ नाका समेत सञ्चालनमा आएको थियो । तर सो नाकाबाट सामान आयात मात्र भयो निर्यात हुन सकेन,’ उनले भने ।
बाढीका कारण नेपाल–चीन व्यापारका महत्वपूर्ण नाकाहरू रसुवागढी र तातोपानी एकसाथ बन्द भएका थिए । दुबै मुख्य नाका बन्द भएपछि त्यसको विकल्पको रूपमा कोरला नाका (मुस्ताङ) लाई प्रयोगमा ल्याइएको थियो । हाल, अत्याधिक चिसोका कारण सञ्चालनमा आउन कठिनाई भएपछि यो नाका एक महिनादेखि बन्द भएको छ ।
यता करिब ३ महिना बन्द रहेर सञ्चालनमा आएको तातोपानी नाकामा रसुवागढी नाका बन्दको प्रभाव खासै नपरेको तातोपानी नाकाका भन्सार अधिकृत तथा सूचना अधिकारी तुलबहादुर पाण्डेले बताएका छन् ।
गत वर्षको तुलनामा भने यस वर्ष थोरै मात्रामा वस्तु तथा सामान आयात भएको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा तातोपानी भन्सारबाट १७ अर्ब ५५ करोड ५२ लाख रुपैयाँको वस्तु तथा सामान आयात भएको छ । जबकी गत आवको सोही अवधीमा २० अर्ब ८७ करोड ३९ लाख रुपैयाँको सामान आयात भएको थियो ।
रसुवागढी नाका बन्द हुँदा तातोपानी नाकाबाट केही मात्रामा गाडीहरु आयात भने बढेको पाण्डेले बताए । ‘दशैँ अगाडिबाट नै सञ्चालनमा आए पनि विगतको अवस्थामा नै फर्किन भने समय लाग्यो, सञ्चालनमा आएको ३/४ महिना हुँदा मात्र पहिलेकै अवस्था वस्तु तथा सामान आयात हुन थालेको छ,’ उनले भने ।










प्रतिक्रिया