मूल्य आकासिएपछि बैंकमा थुप्रियो करिब डेढ सय किलो सुन


काठमाडौँ । पछिल्लो समय सुनको मूल्य आकासिएपछि बैंकमा सुन थुप्रिएको छ । नेपाली बजारमा पुरानै सुनको कारोबारले गर्दा नयाँ सुनको आयात ठप्प भएको हो ।

नेपालमा सुनको आयात वाणिज्य बैंकहरू मार्फत हुने गर्छ । व्यवसायीहरूले माग गरेअनुसार बैंकले सुनको आयात गर्ने गर्दछन् । बजारमा उक्त सुन कारोबार नभएपछि बैंकमा नै जम्मा हुन्छ । हाल बैंकहरुमा करिब डेढ सय किलोग्राम सुन थुप्रिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

चालु आवको मंसिर महिनामा १ किलोग्राम मात्र सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । मासिक सयौं किलोग्राम आयात भइरहने सुन पछिल्लो एक महिनामा १ किलो मात्रै आयात भएको हो ।

चालु आर्थिक वर्षको पाँच महिनामा जम्मा ९०३ किलोग्राम सुन आयात भएको छ । जबकी गत आर्थिक वर्षको पाँच महिनामा ९ हजार ९७१ किलोग्राम सुन आयात भएको थियो ।

‘बजारमा पुरानै सुन धेरै रहेको र पुरानै सुन कारोबार भइरहेकाले आयात रोकिएको उनको भनाइ छ । शाक्यका अनुसार, कार्तिक महिनामा एक पटक ३०० किलो सुन आयात भएको थियो । उक्त मंसिरका लागि करिब पर्याप्त भयो । त्यसपछि व्यवसायीहरूले २०० किलो सुन मगाएका थिए । उक्त सुनबाट करिब ५० कारोबार भएको छ, बाँकी बैंकरूसँगै रिजर्ब रहेको अवस्था छ ।

पछिल्लो समय सुनको मूल्यमा भएको वृद्धिले गर्दा कारोबारमा गिरावट आएको उनको तर्क छ । ‘बजारमा पुरानै सुनको कारोबार भइरहेको छ । अहिले बजारमा नयाँ खरिदभन्दा पनि पुरानो सुन फिर्ता भइरहेको छ । सुन किन्ने भन्दा पनि बिक्री गर्नेहरू बढी रहेका छन् । नयाँ सुनको कारोबार बन्द जस्तै छ ’ उनले भने ।

चालु आवको साउनमा १०० केजी, भदौमा १०१ केजी, असोजमा ४०० केजी, कात्तिकमा ३०० केजी सुन आयात भएको तथ्यांक छ । मंसिरमा बिहेको सिजन भएका कारण नयाँ सुनका गरगहनाको माग उच्च हुन्छ । तर, यसपाली मंसिरमा नै नयाँ सुनको माग न्यून भएको शाक्यले बताए ।

‘अहिले सुनको मूल्य अत्यधिक बढेको छ । लगानीका हिसाबले सुनको माग बढेको छ । सुनका गरगहनाको माग नहुँदा व्यवसाय शिथिलजस्तै छ,’ उनले भने, ‘पहिला मंसिरमा सुनका गरगहनाको माग उच्च हुने गरेको थियो । तर, यसपालि ग्राहकले पुरानै सुन प्रयोग गरेका छन् । ५ तोलाको गरगहना बनाउनुपर्ने ग्राहकले आधा जसो त पुरानै गरगहनाबाट ल्याउँछन् । त्यसले गर्दा पनि नयाँ सुन खपत न्यून छ ।’

पछिल्लो समय व्यवसायीले बैंकबाट सुन खरिद गर्न छाडेको उनले बताए । ‘अहिले सुनको माग छैन । त्यसपछि अहिले व्यवसायीले बैंकबाट सुन उठाउन पनि कम गरेका छन् । दिनमा एक–दुई केजी सुन मात्रै बैंकबाट खरिद गर्छन् ।’ उनले भने

सन् २०२५ मा सुनको मूल्यमा उछाल, ५८ प्रतिशतले बढ्यो भाउ

पछिल्लो एक वर्षमा विश्व बजारमा सुनको मूल्य तीव्र बढेको छ । अन्तरराष्ट्रिय बजारकै आधारमा नेपाली बजारमा पनि सुनको मूल्यमा प्रतिकुल प्रभाव परेको हो । नेपाली बजारमा सुनको मूल्य गत वर्षको तुलनामा ५८.१६ प्रतिशतले बढेको छ । आज पुस १७ (सन् २०२६ जनवरी १) मा सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

जबकी गत वर्ष अर्थात् सन् २०२५ जनवरी १ मा सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँ रहेको थियो । नेपाली बजारमा यस अघि गत आइतबार प्रतितोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो । उक्त दिन अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ५३४.१६ अमेरिकी डलर पुगेको थियो ।

चाँदीको आयात पनि कात्तिकदेखि ठप्प

यता चाँदीको आयात भने कात्तिकदेखि नै ठप्प देखिएको छ । चालू आवको पाँच महिनामा कुल एक हजार किलो ३३४ ग्राम मात्र चाँदी आयात भएको छ । त्यसमा साउनमा ३४ ग्राम र असोजमा एक हजार किलो १०० ग्राम चाँदी आयात भएको छ । तथ्यांकअनुसार भदौमा पनि चाँदी आयात भएको थिएन ।विभागको तथ्यांक कात्तिकमा २०० ग्राम मात्रै चाँदी आयात भएको छ ।

मंसिरमा चाँदी आयात नै भएको छैन । अहिले चाँदीको मूल्य पनि बढ्दो क्रममा छ । मूल्य बढेपछि यसको कारोबार पनि प्रभावित भएको छ । पछिल्लो समय केही व्यक्तिले लगानीकै रूपमा चाँदीको माग गर्ने गरेका छन् ।
गत आवको पाँच महिनामा एक हजार १०३ ग्राम मात्रै चाँदी आयात भएको थियो । त्यसको तुलनामा भने चाँदीको आयात धेरै बढेको हो ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  ०८ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।