नाडा निर्वाचन प्रक्रिया कानुनसम्मत र सर्वसम्मत रूपमा सम्पन्न


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले संस्थाको निर्वाचन प्रक्रिया विधान, नियमावली, प्रचलित कानुनी व्यवस्था तथा निर्वाचन अधिकृतको कार्यतालिकाअनुसार व्यवस्थित, पारदर्शी र विधिसम्मत ढङ्गले अगाडि बढिरहेको स्पष्ट पारेको छ।

पौस ९ गते सम्पन्न ४९औँ वार्षिक साधारण सभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्राप्त निर्देशन र स्वीकृति तथा निर्वाचन अधिकृतको औपचारिक सूचनाका आधारमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया वैधानिक रूपमा सञ्चालन गरिएको जनाएको छ।

निर्वाचन अधिकृत कार्यालयबाट प्रकाशित कार्यक्रमअनुसार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भई अध्यक्ष पदमा १, प्रदेश सदस्यतर्फ ७ तथा साधारण सदस्यतर्फ १८ उम्मेदवारी दर्ता भएको थियो। तीमध्ये साधारण सदस्यतर्फ १ उम्मेदवारी फिर्ता लिएपछि अन्तिम उम्मेदवारी नामावलीमा अध्यक्ष पदमा १, प्रदेश सदस्यमा ७ र साधारण सदस्यमा १७ उम्मेदवारी कायम भएका छन्।

प्राप्त उम्मेदवारीहरू निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणमा जाँच, छानबिन र टुङ्गो लागेपछि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मत रूपमा निर्वाचित भएको जानकारी संस्थाले दिएको छ। नाडाले यसलाई संस्थागत लोकतान्त्रिक अभ्यास, एकता र सहकार्यको सकारात्मक निरन्तरता का रूपमा ग्रहण गरेको जनाएको छ।

प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नपरेकाले पौष २५ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अब आवश्यक नरहेको र निर्वाचनको परिणाम सोही मितिमा नाडा कार्यालयबाट घोषणा गरिने पनि नाडाले जानकारी गराएको छ।

नाडाले निर्वाचन प्रक्रियामा सहयोग, विश्वास र सक्रिय सहभागिता जनाउने सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि संस्थालाई कानुनसम्मत, पारदर्शी, जिम्मेवार र सुदृढ ढङ्गले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।