काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन तथा सम्मानित उच्च अदालत पाटनको उत्प्रेषण परमादेशको आदेशअनुसार अद्यावधिक विवरणसहित पुनः प्रकाशित विवरणपत्रका आधारमा कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाएको हो।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १०.१४ प्रतिशत बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर बुक बिल्डिङ विधिमार्फत निष्काशन गरिएको थियो। पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर बोलकबोल प्रणालीमार्फत बिक्री भई प्रति शेयर ९१२ रुपैयाँ कट–अफ मूल्य निर्धारण भएको थियो।
सोही कट–अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई प्रति शेयर ८२० रुपैयाँ ८० पैसाको दरमा ९ लाख २४ हजार ७ सय ६८ कित्ता शेयर निष्काशन गरिएको थियो। उक्त शेयरका लागि ५ लाख ३२ हजारभन्दा बढी आवेदनमार्फत झण्डै ३० गुणा बढी माग प्राप्त भएको निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ।
निर्देशिकाअनुसार अयोग्य तथा दोहोरो आवेदन रद्द गरी योग्य आवेदकहरूमध्ये गोलाप्रथामार्फत १८ हजार ४९५ जनालाई न्यूनतम ५० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। आईपीओमा उल्लेख्य सहभागिता जनाउने सर्वसाधारण, नियामक निकाय, बैंक तथा सरोकारवाला सबैप्रति कम्पनी र बिक्री प्रबन्धकले धन्यवाद व्यक्त गरेका छन्।












प्रतिक्रिया