होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने


काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीकाे  आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त समयावधि भित्र कम्पनीको सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि माघ १८ गतेसम्म लम्बिने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  ०९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।