काठमाडौँ । नेपालमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले लगानी बोर्डको सहकार्यमा युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामा रहेका नेपाली नियोगका प्रमुखहरूसँग भर्चुअल अन्तरक्रिया आयोजना गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले नियोग प्रमुखहरूलाई नेपालमा लगानी भित्र्याउनका लागि आर्थिक कूटनीतिलाई प्राथमिकता दिन र सोही अनुसारका गतिविधिहरू सञ्चालन गर्न निर्देशन दिएका छन् ।
अन्तरक्रियाका क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) को अवस्था, अवसर, चुनौती र भविष्यका सम्भावनाहरूका बारेमा विस्तृत प्रस्तुतीकरण दिए । परराष्ट्र सचिव अमृतबहादुर राईले थप लगानी आकर्षित गर्न आर्थिक कूटनीतिलाई थप सुदृढ बनाउनु पर्ने आवश्यकतामा जोड दिए ।
त्यसैगरी, परराष्ट्र मन्त्रालयका सहसचिव धनीराम शर्माले लगानी प्रवर्द्धनका लागि नेपालका नीति तथा प्राथमिकताहरूका बारेमा भनाइ राखे । उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालय, लगानी बोर्ड र विभिन्न क्षेत्रका नेपाली नियोगका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया