सेक्युरिटीपाल एआईले क्रिकेटर शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने


काठमाण्डौँ । विश्वमा तीब्र गतिमा विस्तार भइरहेका फच्र्युन ५०० कम्पनीहरूले प्रयोग गर्ने एस्योरेन्स म्यानेजमेन्ट प्लेटफर्म (एएमपी) सेक्युरिटीपालले उदाउँदो क्रिकेट प्रतिभा तथा नेपाल प्रिमियर लिगका दुई पटकका विजेता शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने घोषणा गरेको छ । प्रायोजनसम्बन्धी सम्झौतामा सेक्युरिटीपालको काठमाण्डौँस्थित सेक्युरिटी एस्योरेन्स कमाण्ड सेन्टरमा खेलाडी तथा कम्पनी टोलीका बिचमा हस्ताक्षर गरिएको थियो । यो रणनीतिक साझेदारीले युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने र खेल मैदानभित्र तथा बाहिर पनि उत्कृष्टता र नवीनतालाई प्रवर्द्धन गर्ने कम्पनीको भनाई छ ।

प्रायोजनअन्तर्गत, सेक्युरिटीपालले शेर मल्ललाई सहयोग उपलब्ध गराएकोले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा खेलको प्रदर्शन, प्रशिक्षण र तयारीमा पूर्ण रूपमा ध्यान केन्द्रित गर्न सक्ने विश्वास कम्पनीले लिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूका क्रममा शेर मल्लले आफ्नो ब्याटमा कम्पनीको लोगो राख्नेछन् । अर्को महिना भारतमा हुने टी २० विश्वकपका लागि पहिलो पटक नेपाली टोलीमा छनौट भएका शेर मल्लका लागि यो सहकार्य उनको करियरको अर्को एउटा महत्वपूर्ण अध्याय भएको कम्पनीको भनाई छ ।

सेक्युरिटीपालका जीएम तथा ग्लोबल अपरेसन्सका भाइस प्रेसिडेन्ट लक्ष्मण एम. बस्नेतले कम्पनीको मान्यता र शेर मल्लको प्रगतिबिचको समानतालाई जोड्दै भने, ‘उत्कृष्ट प्रदर्शन, निरन्तरता र जुझारुपन नै सेक्युरिटीपालले गर्ने हरेक कार्यको जग हो । शेरको अहिलेसम्मको यात्राले पनि यिनै मान्यताहरूलाई प्रतिबिम्बित गर्छ । उहाँले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहँदा उहाँको साथमा उभिन पाउनु हाम्रा लागि ठूलो गर्वको कुरा हो ।’

शेर मल्लले साझेदारीको स्वागत गर्दै भने, ‘सेक्युरिटीपाल जस्तो संस्थाबाट सहयोग पाउनु मेरा लागि सम्मानको कुरा हो । यस प्रायोजनले मेरो आत्मविश्वास बढाएको छ र व्यावसायिक क्रिकेट यात्रामा आफ्नो खेललाई थप उत्कृष्ट बनाउन मलाई प्रेरित गरेको छ ।’

यस प्रायोजनमार्फत, सेक्युरिटीपालले नेपालका प्रतिभाहरूलाई सुरुवाती चरणदेखि नै सहयोग गर्ने र दीर्घकालसम्म साथ(सहयोग दिने आफ्नो विश्वासलाई पुनः पुष्टि गरेको जनाएको छ ।

सेक्युरिटीपाल एआईको बारेमा

सेक्युरिटीपाल एआई, एक अग्रणी एस्योरेन्स म्यानेजमेन्ट प्लेटफर्म हो, जसले एआई र साइबर सुरक्षा विज्ञहरुको दक्षतालाई प्रयोग गरी कम्पनीहरुको सुरक्षा समीक्षा प्रक्रियालाई सहज बनाउँछ । यसले कम्पनीहरुको साइबर सुरक्षा, कम्प्लायन्स, जोखिम व्यवस्थापन र भेन्डर एस्योरेन्सको हरेक चरणलाई छिटो, सरल, र भरपर्दो बनाउँछ ।

सन् २०२० मा स्थापना भएको र क्राफ्ट भेन्चर्सको लगानी रहेको यस कम्पनीको मुख्यालय सान् फ्रान्सिस्कोमा छ भने यसको ‘सिलिकन पिक्स’ ग्लोबल एस्योरेन्स कमाण्ड सेन्टर नेपालको काठमाण्डौँमा रहेको छ । तीव्र गतिमा बढिरहेका स्टार्टअपदेखि अन्तर्राष्ट्रिय सेयर बजारमा सूचीकृत ‘फर्च्युन ५००’ कम्पनीहरूसम्म गरी १ हजारभन्दा बढी संस्थाहरूले सेक्युरिटीपालको सेवा प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।