काठमाडौँ | नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक वृद्धि देखिएको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २०८२ मसान्तसम्म ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा हेर्दा पनि सञ्चितिमा १३.५ प्रतिशतको सुखद वृद्धि देखिएको छ। असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति मङ्सिर मसान्तसम्म आइपुग्दा २२ अर्ब १३ करोड डलर कायम भएको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात १८.७ प्रतिशतले बढेर २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंक बाहेक) सँग रहेको सञ्चिति २७.४ प्रतिशतले बढेर ३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.२ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको आयातलाई आधार मान्दा हालको वैदेशिक विनिमय सञ्चिति वस्तु आयातका लागि २१.७ महिना र वस्तु तथा सेवा दुवैको आयातका लागि १८.२ महिनासम्म धान्न पर्याप्त देखिन्छ। यो तथ्याङ्कले मुलुकको बाह्य क्षेत्रको स्थिति निकै सुदृढ रहेको सङ्केत गर्दछ।
यसैगरी, मङ्सिर मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन सँगको अनुपात ५२.४ प्रतिशत पुगेको छ। गत असारमा यस्तो अनुपात ४३.८ प्रतिशत मात्र थियो। कुल आयातसँगको अनुपात पनि १२८.१ प्रतिशतबाट बढेर १५१.९ प्रतिशत पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।












प्रतिक्रिया