काठमाडौँ । चालु आर्थिक वर्षमा नेपाली सेयर बजारमा केहि सुस्तता आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ साल मंसिर मसान्तसम्ममा गत वर्षको ुतलनामा नेप्से सुचक र बजार पुँजीकरणमा गिरावट आएको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्ष २०८१ मंसिर मसान्तमा २६८२.२९ विन्दुमा रहेको नेप्से २०८२ मंसिर मसान्तमा आइपुग्दा २६०१.६२ विन्दुमा कायम भएको छ । यस्तै धितोपत्र बजार पुँजीकरण पनि घटेर ४३ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोहि अवधिमा बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको थियो ।
बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात पनि घटेको छ । गत वर्ष ७७.९३ प्रतिशत रहेको यस्तो अनुपात यस वर्षको मंसिर मसान्तमा ७१.५२ प्रतिशतमा झरेको छ ।
सुचीकृत हुने कम्पनीको संख्या २८५ पुग्यो
बजार घटेपनि नेप्सेमा सुचीकृत हुने कम्पनीको संख्यामा भने वृद्धि भएको छ । गत वर्षको मंसिर मसान्तमा २६७ रहेको सुचीकृत कम्पनीहरुको संख्या यो वर्षको मंसिर मसान्तमा २८५ पुगेको छ । जसमा सबैभन्दा बढी १३३ वटा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरु रहेका छन् । यस्तै ९७ जलविद्युत कम्पनी, २६ उत्पादन तथा प्रशोधन, ८ होटल तथा पर्यटन र ७ वटा लगानी समूहका बकम्पनीहरु सुचीकृत भएका छन् ।
कुल बजार पुँजीकरणमा बैंक वीत्तीय संस्था र बीमा कम्पनीहरुको हिस्सा सबैभन्दा बढी ५२.५ प्रतिशत रहेको छ । यसैगरि जलविद्युत समूहको हिस्सा १५.२ प्रतिशत, लगानी समूहको हिस्सा ७.४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको हिस्सा ६.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो पाँच महिनामा मात्रै कुल ४३ अर्ब २४ करोड बराबरको थप धितोपत्र सुचीकृत भएका छन् । यस अवधिमा २९ अर्ब ९६ करोडको साधारण सेयर (आइपीओ) र ७ अर्ब ४६ करोड रुपैयाँको हकप्रद सेयर, ६ अर्ब २५ करोड रुपैयाँको म्याचुअल फण्ड र ३ अर्ब २४ करोड रुपैयाँ बराबरको बोनस सेयर सुचीकृत भएका छन् ।
समीक्षा अवधिमा धितोपत्र बोर्डले थप २० अर्ब ७५ करोड बराबरको धितोपध सार्वजनिक निष्काशनको लागि अनुमति दिएको राष्ट्र बैकले जनाएको छ ।












प्रतिक्रिया