परान बन्यो यो वर्षको सर्वाधिक कमाउने चलचित्र, प्रदर्शनरत अन्य ३ को अवस्था के ?


काठमाडौँ । चलचित्र विकास बोर्डले हलमा प्रदर्शनमा रहेका चार चलचित्रको कारोबार विवरण सार्वजनिक गरेको छ ।

चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र परान, झरी पछिको इन्द्रेणी, एक्लो र मुगलानको कारोबार विवरण सार्वजनिक गरेको हो । बोर्डले दिमाग घोच्ने मान्छे चलचित्रको भने कारोबार विवरण सार्वजनिक गरेको छैन । पुस ५ गतेदेखि प्रदर्शनमा आएको उक्त फिल्मको विवरण सार्वजनिक नगरेको हो ।

पुस २६ गते मध्यरातसम्मको विररण हेर्दा सबैभन्दा धेरै चलचित्र ‘परान’ले कमाएको छ । परानले ६ लाख २९ हजार ६ सय ९० टिकट बिक्री गर्दै १७ करोड ७४ लाख २२ हजार १ सय ९० रुपैयाँ आम्दानी गरेको छ । दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ ले हाल प्रदर्शनरत अन्य सबै चलचित्रहरूको संयुक्त आम्दानीभन्दा पनि यो कमाइ कैयौँ गुणा बढी कमाइ गरेको हो । नीर शाह स्टारर फिल्म ‘परान’ १४ कात्तिकबाट प्रर्दशनमा आएको थियो । चलचित्र परान यो आर्थिक वर्षकै सर्वाधिक कमाउन सफल भएको छ ।

त्यसैगरी, कमाइको दोस्रो स्थानमा झरी पछिको इन्द्रेणी रहेको छ । उक्त, चलचित्रले ३५ हजार ८ सय ४२ टिकट बिक्री गर्दै १ करोड १२ लाख ३८ हजार ९ सय ४ रुपैयाँ संकलन गरेको छ । सो चलचित्र पुस ४ गतेदेखि प्रदर्शनका आएको थियो ।

तेस्रो स्थानमा रहेको चलचित्र एक्लोले १ हजार ३ सय ११ टिकट बिक्री गर्दै ४३ लाख २५ हजार ४ सय ९८ रुपैयाँ आम्दानी गरेको छ । सो चलचित्र अँग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ गतेदेखि प्रदर्शनका आएको हो ।

यस्तै, चलचित्र मुगलानले हालसम्म २ हजार ४ सय टिकट बिक्री गरी ६ लाख ३१ हजार ९ सय ४४ रुपैयाँ आम्दानी गर्दै सूचीको अन्तिम स्थानमा परेको छ । सो चलचित्र पुस १० गतेदेखि प्रदर्शनका आएको थियो ।

बोर्डले साताको एक दिन चलचित्रको कारोबार विवरण सार्वजनिक गर्दै आएको छ । यद्यपी, निर्माताहरुलाई भने दैनिक विवरण बुझाउने गरेको छ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार  १७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।