काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं उपत्यकाका एक हजार ६५१ जना ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवामुखी व्यवहार, जोखिम न्यूनीकरण र प्रविधिमैत्री अभ्यासमा निरन्तर अद्यावधिक गराउने उद्देश्यले उक्त समझदारी गरिएको जनाइएको छ । ट्राफिक सप्ताह २०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’को उद्घाटन समारोहका अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र संघका बोर्ड सदस्य सौरभ ज्योतिबीच समझदारीपत्र आदान–प्रदान गरिएको हो ।
समझदारीअनुसार संघले आफ्ना सदस्य कम्पनीको विशेषज्ञता प्रयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवप्रविधिको प्रयोग तथा सवारी र यातायात प्रणालीसम्बन्धी विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विज्ञ सहजीकरण र समन्वय उपलब्ध गराउनेछ । ट्राफिक प्रहरीले भने तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितताको जिम्मेवारी लिनेछ ।
समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम ०८२ माघ ४ गतेदेखि सुरु हुने नाइमाले जनाएको छ । तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ । तालिममा तनाव व्यवस्थापनरध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीप लगायत विषय समेटिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्कमुखी सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर शिक्षित गर्नु आवश्यक रहेको बताए ।
संघकी अध्यक्ष ऋतु सिंह वैद्यले सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता सचेतना, दक्ष मानवस्रोत विकास र नीतिगत पहल संघको प्राथमिकतामा रहेको बताउँदै दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि भई नागरिकमैत्री सेवा प्रवाह सुधार हुने विश्वास व्यक्त गरिन्।












प्रतिक्रिया