सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पछिल्लो समय डिजिटल बैंकिङलाई आफ्नो प्राथमिकताको केन्द्रमा राख्दै विभिन्न नवीन सेवाहरू ल्याइरहेको छ । बैंकले ‘डिजिटल बैंकिङ’ लाई केवल सेवाको रूपमा मात्र नभई ग्राहकको जीवनशैलीको हिस्सा बनाउने लक्ष्य लिएको जनाएको छ ।
बैंकले डिजिटल बैंकिङलाई अगाडि बढाउन विभिन्न कदमहरू चालेको छ । सबै डिजिटल सेवाहरूलाई एउटै संयन्त्रभित्र समेट्न ‘सिटिजन्स डिजि बैंक’ नामक एकीकृत प्लेटफर्म सञ्चालनमा ल्याएको र यसले मोबाइल र वेब दुवै माध्यमबाट ग्राहकलाई सहज अनुभव प्रदान गर्ने बैंकको भनाई छ ।
बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पटक भर्चुअल क्रेडिट कार्डको अवधारणा भित्र्याउँदै ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । “यो एक अत्याधुनिक डिजिटल कर्जा सुविधा हो, जसको माध्यमबाट ग्राहकले आफ्नो खल्तीमा भौतिक प्लास्टिक कार्ड नबोकीकन मोबाइल बैंकिङ एपमार्फत नै क्रेडिट कार्डको सुविधा प्रयोग गर्र्न सक्छन् । साथै, बैंकले दर्ता भएका क्यूआर मर्चेन्टहरूका लागि अल्पकालीन कर्जाको रूपमा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ पनि ल्याएको छ र ग्राहकहरूका लागि ‘पे–डे लोन’ को सुविधा समेत प्रदान गर्दै आएको छ, जुन बैंक भ्रमण नगरी र कुनै कागजी झन्झट बिना तुरुन्तै प्राप्त गर्न सकिने पूर्ण डिजिटल कर्जा हो,” बैंकले भनेको छ ।
लगानीकर्ताहरूको सहजताका लागि बैंकले नेपालमै पहिलोपटक आफ्नो मोबाइल बैंकिङ एपभित्रै सेयर आवेदन दिने र सिआरएन नम्बर व्यवस्थापन गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ । बैंकले आफ्ना कर्पोरेट कार्यालयमा ‘स्मार्ट हब’ स्थापना गरि २४ घण्टा नगद जम्मा र झिक्न सक्ने साथै चेक डिपोजिट तथा स्टेटमेन्ट प्रिन्ट गर्न सकिने व्यवस्था गरेको छ ।
बैंकले डेढ महिनाअघि सञ्चालनमा ल्याएको डिजि बैंकको अवधारणा के हो ? ग्राहकको आकर्षण् कस्तो छ ?
सिटिजन्स बैंकले गत महिना सार्वजनिक गरेको ‘सिटिजन्स डिजि बैंक’ एक अत्याधुनिक एकीकृत ओम्नी च्यानल प्लेटफर्म हो । यसको मुख्य अवधारणा बैंकमा छरिएर रहेका सबै डिजिटल सेवाहरूलाई एउटै सुरक्षित र सहज च्यानलमा ल्याउनु हो । डिजि बैंक केवल एक वेबसाइट वा एप मात्र नभई ग्राहकलाई ‘बैंक नआई बैंकिङ’ सेवा दिने पूर्ण डिजिटल इकोसिस्टम हो । यसको मुख्य सोच भनेको ग्राहकले भौतिक रूपमा शाखा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्नु रहेको डिजिटल बैंकिङ विभाग प्रमुख भूपेन्द्र बिष्ट बताउँछन् ।

सिटिजन्स डिजि बैंकले ग्राहकलाई ‘स्वयं–सेवा’ अर्थात ‘सेल्फ सर्भिस’ को शक्ति प्रदान गरेको बिष्ट बताउँछन् । “यस प्लेटफर्ममार्फत ग्राहकले घरमै बसेर बैंकिङ सेवाहरू कुनै पनि बैंक कर्मचारीको सहयोग बिना नै सरल र सुरक्षित तरिकाले उपभोग गर्न सक्छन् र यसबाट सेवाग्राही, प्रयोगकर्ता र बैंकका कर्मचारीलाई समेत सहज हुने गरी सुविधा बनाइएको छ,” उनी भन्छन् ।
धेरै डिजिटल सेवाहरूमध्ये कुन सेवा कहाँ र कसरी लिने भन्ने अन्योल हटाउन अध्ययन गरी बैंकले यो साझा र सहज प्लेटफर्मको विकास गरेको हो । यसको मुख्य उद्देश्य ग्राहकले विभिन्न सेवाका लागि फरक–फरक ठाउँमा भौंतारिन नपरोस् भन्ने हो । यो ओम्नी–च्यानल प्लेटफर्मको माध्यमबाट ग्राहकले बैंकका सम्पूर्ण डिजिटल सेवाहरूको जानकारी र प्रयोग एउटै पोर्टल वा एपमार्फत सजिलै गर्न सक्छन् ।
“विशेष उल्लेख्य कुरा के छ भने, यो अत्याधुनिक प्लेटफर्म सिटिजन्स बैंकको आफ्नै आन्तरिक प्राविधिक टोलीद्वारा विकास गरिएको हो । बैंकको आफ्नै जनशक्तिले ग्राहकको आवश्यकता र नेपाली बैंकिङ परिवेशलाई बुझेर यो प्रणाली तयार पारेकाले यसमा प्रयोगकर्ताको अनुभवलाई थप सहज र व्यवहारिक बनाइएको छ,” बिष्ट भन्छन् ।

सिटिजन्स बैंकले डिजिटल बैंकिङलाई केवल सुविधाको रूपमा मात्र नभई एक सुरक्षित र भरपर्दो प्रणालीको रूपमा स्थापित र सहजिकरण गर्न ‘सिटिजन्स डिजि बैंक’ मार्फत नवीन प्रयासहरू गरिरहेको छ । सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस प्लेटफर्ममा बहुआयामिक सुरक्षा प्रणाली अर्थात ‘मल्टी लेयर सेक्युरिटी’ लागू गरिएको बैंकले जनाएको छ । वेब सेवाको प्रयोग गर्दा ’ओटीपी’ अनिवार्य गरिएको छ भने मोबाइल बैंकिङको सुरक्षालाई पनि थप सुदृढ बनाइएको छ । सेवाको संवेदनशीलतालाई ध्यानमा राखेर कुन सेवा मोबाइलबाट मात्रै चलाउन मिल्ने र कुन वेबबाट मात्रै सम्भव हुने गरी वर्गीकरण गरिएकाले अनधिकृत पहुँचको जोखिमलाई न्यून बनाएको बैंकको भनाई छ ।
ग्राहकहरूले केवाईसी अद्यावधिक गर्दा भोग्नुपर्ने झन्झटिलो प्रक्रियालाई सिटिजन्स डिजि बैंकले पूर्ण रूपमा डिजिटल माध्यमबाट समाधान गरिदिएको छ । सामान्य विवरण सच्याउनका लागि पनि पुरै फारम भर्नुपर्ने पुरानो शैलीलाई हटाउँदै अब डिजि बैंकमार्फत ग्राहकले प्यान अपडेट, राष्ट्रिय परिचयपत्र विवरण प्रविष्टि जस्ता कामहरू केही मिनेटमै आफैँ गर्न सक्छन् । ”बैंकले आगामी दिनमा यस्तै अन्य सेवाहरू थप गर्दै लैजाने योजना बनाएको छ, जसले ग्राहकलाई भौतिक रूपमा शाखा पुग्नुपर्ने आवश्यकतालाई पूर्णतः अन्त्य गर्नेछ,” बैंकले भनेको छ ।

अहिले यस प्लेटफर्मभित्र ११ वटा मुख्य मेनुहरू अन्तर्गत ५० भन्दा बढी डिजिटल सेवाहरू एकीकृत गरिएको बैंकले जनाएको छ । जसमा अनलाइन खाता खोल्ने, लकर सुविधाका लागि आवेदन दिने, मोबाइल बैंकिङ, डिम्याट सम्बन्धी सम्पूर्ण कामहरू गर्ने, र डिजिटल लोनको अनुरोध गर्ने जस्ता महत्वपूर्ण सुविधाहरू छन् । साथै, क्युआर मर्चेन्ट सेवा, ब्यालेन्स सर्टिफिकेट र टिडिएस सर्टिफिकेट लिन सकिने सुविधाले गर्दा व्यवसायिक ग्राहकहरू पनि यसप्रति निकै आकर्षित भएको बैंकले बताएको छ । यी सबै सुविधाहरूले सिटिजन्स बैंकलाई नेपालको डिजिटल बैंकिङ क्षेत्रमा एक अग्रणी र विश्वासिलो संस्थाको रूपमा उभ्याएको बैंकको विश्वास छ ।
सिटिजन्स डिजि बैंकप्रति ग्राहकको आकर्षण निकै उत्साहजनक र सकारात्मक देखिएको जनाएको बैंकले परम्परागत बैंकिङको झन्झटलाई प्रविधिमार्फत समाधान गरेपछि विशेषगरी युवा पुस्ता, प्रविधिप्रेमी प्रयोगकर्ता र व्यस्त व्यवसायीहरूको आकर्षण धेरै देखिएको जनाएको छ ।










प्रतिक्रिया