मीरा हाडा फाउन्डेसनद्वारा ‘नारी स्वास्थ्य’ पुस्तक विमोचन


काठमाडौँ । मीरा हाडा फाउन्डेसनले नारी स्वास्थ्यसम्बन्धी पुस्तक विमोचन गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्बन्धित चिकित्सक, प्राध्यापक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो।

उक्त विमोचन समारोहमा स्वागत मन्तव्य गर्दै फाउण्डेशनका महासचिव डा. वासुदेव कृष्ण शास्त्रीले फाउण्डेशनले डा. मीडा हाडाले नारी स्वास्थ्यामा गरेको योगदान अतुलनिय भएको बताए । आगामी दिनमा फाउण्डेशनले महिलाको स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्याक्रमहरु सञ्चालन गरी सेवा प्रदान गर्ने बताउँदै यस्तो फाउण्डेशन अहिलेको आवश्यकता भएको जिकिर गरे ।

डा. हाडासँग सहकार्य गर्दै यस फाउन्डेशनमा योदान दिन पाउँदा आफुलाई खुसी लागेको बताउँदै उनले उपस्थितलाई स्वागत गरेका थिए । फाउण्डेशनले गरिव, दुखी र पिछडिएका वर्गको लागि काम गर्दै आएको र आगामी दिनमा पनि यस्तै काम गर्ने उनले बताए ।

विमोचन समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनकी संस्थापक डा. हाडाले फाउन्डेसन स्थापना गर्नुको उद्देश्य विशुद्ध समाजसेवा भएको स्पष्ट पारिन्। उनले मीरा हाडा फाउन्डेसन नाफा वितरण नगर्ने संस्थाका रूपमा स्थापित भएको बताउँदै विशेषगरी नारी स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानमा पहल गर्नु नै यसको मुख्य लक्ष्य रहेको उनले बताइन् ।

उनले फाउन्डेसनको तर्फबाट प्रकाशित ‘नारी स्वास्थ्य’ नामक पुस्तकमा संस्थाको उद्देश्य, कार्यक्षेत्र र आगामी योजनाबारे स्पष्ट रूपमा उल्लेख गरिएको जानकारी दिइन्। सानैदेखि समाजसेवामा समर्पित हुन पाएको प्रेरणाका कारण आफू यो क्षेत्रमा लागेको उल्लेख गर्दै उनले डाक्टरको रूपमा काम गर्दा आम महिलाहरूले भोग्दै आएका स्वास्थ्य समस्याले आफूलाई अझ बढी जिम्मेवार बनाएको बताइन्।

“मैले जीवनभर बिरामीको सेवा गरेर कमाएको केही रकम मेरो जीवनपछि पनि सेवामै खर्च होस् भन्ने चाहनाले यो फाउन्डेसन स्थापना गरेकी हुँ,” उनले भनिन्। कार्यक्रममा बोल्दै हाडाले पछिल्लो पुस्ता मौलिक संस्कारबाट टाढिँदै गएको भन्दै भविष्यमा संस्कार पाठशाला सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिन्। सुरुमा सीमित व्यक्तिहरू मात्र जोडिएको भए पनि अब यो संस्था सबै नेपालीको साझा संस्था बनेको उनले उल्लेख गरिन्।

“यो संस्था मीरा हाडा एक्लैको होइन, तिमी–हामी सबैको हो,” उनले भनिन्, “यसको पवित्र उद्देश्य पूरा गर्न  सबैको साथ, सहयोग, सुझाव र मार्गदर्शन अत्यन्तै आवश्यक छ।” फाउन्डेसनले कुन क्षेत्रमा कसरी काम गर्दा समाजलाई बढी लाभ हुन्छ भन्नेबारे सुझाव दिन सबैलाई आग्रह गर्दै उनले सेवा र सहकार्यबाट नै समाज परिवर्तन सम्भव हुने धारणा राखिन्।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  ०९ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।