सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, सुन २४ सयले बढ्दा चाँदीमा २९० रुपैयाँको बढोत्तरी


कठमाडौँ । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ । शुक्रबार रेकर्ड कायम गरेको सुनचाँदीको मूल्यले रेकर्ड तोड्ने क्रमलाई आज पनि जारी राखेको छ ।

आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढ्दा चाँदी २९० रुपैयाँले बढेर नयाँ रकेर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँ कायम भई उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आज पुनः नयाँ रेकर्ड बनेको हो ।

यस्तै, शुक्रबार रेकर्ड बनाएको चाँदीको मूल्यले आइतबार फेरी रेकर्ड ब्रेक गरेको छ । आज चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९८८.५६ अमेरिकी डलर र चाँदी १०३.३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।