काठमाडौँ । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले माघ १२ गते पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको कार्तिक २४ मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएन आइटी जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् ।
प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उनले १० भन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन्।
उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए। बैंकिङ्ग क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा ४ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, उनले ५ वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए।
प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उनको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।












प्रतिक्रिया