काठमाडौँ । नेपाल स्पोर्टस समिट कमिटीले नेपाल स्पोट्र्स समिट २०२६ (एनएसएस २०२६) को औपचारिक घोषणा गरेको छ । समिट आगामी फेब्रुअरी ५ मा सोल्टी होटलमा आयोजना हुने लागेको हो ।
यो नेपालकै पहिलो संरचित राष्ट्रिय खेल सम्मेलन मञ्च रहेको आयोजनकले जनाएको छ । जसले कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट नेतृत्व, सरकारी अधिकारी, खेल प्रशासक, सञ्चारकर्मी तथा विश्वव्यापी सरोकारवालाहरूलाई एउटै स्थानमा एकत्रित गर्ने समेत जनाएको छ ।
समिटमा नेपालको खेल क्षेत्रसँग सम्बन्धित नीति, पूर्वाधार, सञ्चार, डिजिटल सामग्री र अन्तर्राष्ट्रिय सहकार्यका विषयहरुमा केन्द्रित पाँच उच्चस्तरीय प्यानल छलफल सत्र सञ्चालन गरिनेछ ।
यी सत्रहरूमा खेल कूटनीति, खेल पूर्वाधार विकास, उदीयमान खेलहरूको विकास, खेल सञ्चार तथा प्रसारणको भूमिका र डिजिटल खेल सामग्री तथा इन्फ्लुएन्सरमार्फत खेल कथावाचनको शक्तिजस्ता विषयहरू समेटिनेछन् । प्रत्येक सत्रका प्यानलिस्टहरूको नाम क्रमशः नेपाल स्पोर्टस समिटका आधिकारिक सामाजिक सञ्जाल र प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
‘नेपाल स्पोट्र्स समिट २०२६ केवल एउटा कार्यक्रम नभई खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान हो ।’ समिटका आयोजक आमिर अख्तरले भने, ‘समिटको उद्देश्य नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरहरूसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गर्नु हो ।’












प्रतिक्रिया