काठमाडौँ । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत १ दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको ११औँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। राष्ट्रकै पहिलो तथा एक मात्र निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनीका रूपमा परिचित बिल्डकनमा यस वर्ष ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
२०० भन्दा बढी स्टलहरू रहने यस प्रदर्शनीमा सहभागी व्यवसायी तथा उद्यमीहरूले आफ्ना नवीनतम उत्पादन तथा सेवाहरू उपभोक्तामाझ प्रस्तुत गर्ने अवसर पाउनेछन्। मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा।लिले संयुक्त रूपमा विगत ११ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस प्रदर्शनीले नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रचलित नवीनतम प्रविधि, सेवा तथा सामग्री नेपाल भित्र्याउने अवसर प्रदान हुँदै आएको आयोजकको भनाइ छ।
प्रदर्शनीमा स्यानिटरी वेयर, टायल्स, मार्बल, एलुमिनियम, ढोका–झ्याल, लिफ्ट, किचन सोलुसन, पाइप, सिमेन्ट, स्टिल लगायत निर्माणसम्बन्धी सम्पूर्ण सामग्री तथा सेवाहरू उपलब्ध हुनेछन्। प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर र पावर्ड बाई लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ।












प्रतिक्रिया