नेप्से परिसूचकमा ५ अंकको सुधार, साढे ११ अर्बको कारोबार


काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सुधार आएको छ । यसअघि सेयर बजार परिसूचक नेप्से लगातार दुई दिन घटेको थियो । आज नेप्से ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा पुगेको छ ।

आज सेयरबजारमा ३३४ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १४१ कम्पनीका सेयरमूल्य बढेका छन् । बाँकीमध्ये ११२ कम्पानीका सेयरमूल्य घटेको छ भने सात कम्पनीका सेयरमूल्य स्थिर रहेका छन् । कुल २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा कमी आएको छ ।

मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ अंकमा पुग्दा कारोबार रकम १४ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ पुगेको थियो ।

आज आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ८३ करोड ५७ लाख बराबरको सेयर कारोबार भएको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा राधी विद्युत रहेको छ । उक्त कम्पनीको ५४ करोड ३६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । मंगलबार ४५ खर्ब ७७ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४५ खर्ब ८६ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक दिनमा ९ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।