काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा १७ अंकको गिरावट आएको छ । बिहीबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५ मा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयरहरु १ लाख ३८ हजार ८८३ पटक किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार ३२० कम्पनीको सेयर किनबेच भएको सेयर बजारमा ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये हिमाल दोलखा हाइड्रो र शिवश्रीको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ । त्यसैगरी, कालिका पावर, रवा इनर्जी र शुभम पावरको सेयर मूल्य धेरै बढ्नेको सूचीको शीर्ष ५ मा परेका छन् ।
त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा कर्पोरेट डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा मिथिला लघुवित्त, सप्तकोशी डेभलपमेन्ट, सान्भी इनर्जी र दरमखोला हाइड्रो रहेका छन् ।
त्यस्तै, बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा ङादी ग्रुप पावर रहेको छ । ङादी ग्रुप पावरको ५९ करोड ९९ लाख १४ हजार रुपैयाँको सेयर किनबेच हुँदा एसवाई प्यानलको ५२ करोड २९ लाख ५४ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा यूनाइटेड मोदी रहेको छ भने चौथो स्थानमा यूनियन हाइड्रो र पाँचौ स्थानमा राधी विद्युत रहेको छ ।
बिहीबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । बुधबार ४५ खर्ब ८६ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४५ खर्ब ५६ अर्ब रुपैयाँमा घटेको छ । बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरण एक दिनमा ३० अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया