नुन सम्बन्धी ऐन, २०५५ तत्काल कार्यान्वयन हुँदैन: अध्यक्ष महर्जन


काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ‘नुन सम्बन्धी ऐन, २०५५’ तत्कालका लागि कार्यान्वयनमा नआउने बताएका छन्। ‘आयोडिन मन्थ २०८२’ (फेब्रुअरी २०२६) को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष महर्जनले नुनको आपूर्ति व्यवस्था सहज बनाउन यस्तो निर्णय भएको जानकारी दिएका हुन्।

अध्यक्ष महर्जनले भने, “नुन सम्बन्धी ऐन आएको २५ वर्ष भइसक्दा पनि नियमावलीको अभावमा कार्यान्वयन हुन सकेको छैन। सर्वोच्च अदालतको अन्तरिम आदेश र हालको अवस्थामा ऐन तत्काल कार्यान्वयन नगर्दा नै आयोडिनयुक्त नुनको आपूर्ति र बिक्री वितरण प्रभावित नहुने देखिएकोले यो ऐन तत्कालका लागि लागू नगर्ने निर्णय भएको हो।”

अध्यक्ष महर्जनले नुनको कारोबारमा निजी क्षेत्रको प्रवेशसँगै विकृति बढेको भन्दै चिन्ता व्यक्त गरे। “केही निजी स्वार्थ भएका व्यवसायीहरूले नुनको कारोबार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने तर्क राख्दै बजारमा अवैध रूपमा अस्वस्थ नुन बिक्री वितरण गर्दै आएका छन्,” महर्जनले भने, “उपभोक्ताहरू यस्तो भ्रममा नपरी सरकारले तोकेको गुणस्तरयुक्त आयोडिन नुन मात्र प्रयोग गर्न म आग्रह गर्दछु।”
मञ्चका अध्यक्ष महर्जनले नेपालीहरूको नुन खाने बानीमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन्। उनले स्वास्थ्य मापदण्ड अनुसार दैनिक ५ ग्राम आयोडिन नुन खानुपर्नेमा जङ्क फुड र सहरी खानपानका कारण दैनिक १० देखि २० ग्रामसम्म नुन खपत भइरहेको तथ्याङ्क प्रस्तुत गरे।

“शरीरलाई आवश्यक पर्ने अधिकतम मात्रा ५ ग्राम भए पनि हामीले धेरै नुन खाइरहेका छौं। यसले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले दैनिक अनिवार्य रूपमा उपभोग गर्ने परिमाणभन्दा बढी नुन नखान म सबैमा हार्दिक अपिल गर्दछु,” महर्जनले भने।

उनले नुनको विषयमा फैलाइएका नकारात्मक भ्रम र प्रचारको पछि नलाग्न र गुणस्तरीय आयोडिनयुक्त नुन मात्र प्रयोग गरेर स्वस्थ रहन आम उपभोक्तालाई आग्रह गरेका छन्।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार  १६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।