काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षको ६ महिनासम्म २१ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर सार्वजनिक निष्काशनको लागि अनुमति दिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, बोर्डले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको साधारण सेयर र ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल २१ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हो ।
आर्थिक वर्ष २०८२÷८३ को छ महिनामा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ६ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ६ अर्ब २५ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ लगायत गरी कुल ४८ अर्ब ४४ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
यस्तै, पुस मसान्तमा धितोपत्र बजार पँुजीकरण ४४ खर्ब ३५ अर्ब ३ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड रहेको थियो । गत आर्थिक वर्षको पुस मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७५.३७ प्रतिशत रहेकोमा अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म ७२.६२ प्रतिशत रहेको छ ।
यस्तै चालु आर्थिक वर्षको पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९७ जलविद्युत कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् ।
२०८१ पुसमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.३ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.८ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको छ ।












प्रतिक्रिया