नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित


काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्पोरेट क्लब नेपालद्वारा आयोजित नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ अन्तर्गत लाइफ इन्स्योरेन्स विधामा सम्मानित भएको छ।

देशभरका मनोनित जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उक्त अवार्ड जित्न सफल भएको हो। काठमाडौंमा आयोजित भव्य समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले अवार्ड ग्रहण गरेका थिए।

नेपालका बीमा कम्पनीहरूको वित्तीय विवरण, सुशासन, दाबी भुक्तानी अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, मानव संसाधन विकासमा गरिएको लगानी, लगानी विविधीकरण, डिजिटलाइजेसन तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमहरूलाई मुख्य मापदण्डका रूपमा मूल्यांकन गर्दै नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको हो।

कम्पनीको कार्यकुशलता, पारदर्शी नीति तथा योजना, प्रभावकारी व्यवस्थापन, आम नागरिकको उच्च विश्वास र सहज तथा विस्तारित सेवा प्रवाहका कारण नेपाल लाइफ उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ।

अवार्ड ग्रहणपश्चात् प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस उपलब्धिको श्रेय कम्पनीका संचालक समिति, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्ता, नियामक निकाय, शेयरधनी तथा मूल्यवान ग्राहकहरूलाई दिएका छन्। साथै, सामूहिक सहकार्यमार्फत जीवन बीमाको महत्वबारे नेपाली समाजलाई अझ प्रभावकारी रूपमा सचेत गराउँदै बीमा पहुँच विस्तारमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।