लक्ष्यअनुसार उठेन राजस्व: सरकारले घटायो राजस्व संकलनकाे अनुमान


काठमाडाैँ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारको आम्दानीको अवस्था सोचेजस्तो उत्साहजनक देखिएको छैन । सरकारले सुरुमा कर, गैरकर र अन्य विविध स्रोतबाट कुल १४ खर्ब ८० अर्ब रुपैयाँ कमाउने ठुलो लक्ष्य राखेको थियो । तर, वर्षको आधा समय बितिसक्दा पनि आम्दानीले गति लिन नसकेपछि मन्त्रालयले अहिले आफ्नो अनुमान घटाएर १२ खर्ब ९८ अर्ब रुपैयाँमा झारेको छ ।

खासगरी कर राजस्वबाट मात्रै १३ खर्ब २५ अर्ब रुपैयाँ उठाउने योजना बनाइएको भए तापनि पुस मसान्तसम्ममा जम्मा ५ खर्ब १६ अर्ब रुपैयाँ मात्र संकलन हुन सकेको छ । यसले गर्दा सरकारलाई आफ्नो खर्च धान्न चुनौतीपूर्ण देखिएको छ । अबको ६ महिनामा थप साढे ६ खर्ब जति कर उठाउनुपर्ने दबाब सिर्जना भएको छ । आम्दानीको लक्ष्य घटाउनु परे तापनि अर्थ मन्त्रालयले आगामी महिनाहरूमा केही सुधार हुने आशा गरेकाे छ। मन्त्रालयको विश्लेषणअनुसार अबको अवधिमा हुन लागेको निर्वाचनले गर्दा बजारमा आर्थिक चलपहल बढ्नेछ र त्यसले सरकारी ढुकुटीमा राजस्व बढाउन मद्दत गर्नेछ ।

त्यस्तै, विदेशबाट सामान आयात गर्ने क्रममा सुधार आएकाले भन्सारबाट हुने कमाइ पनि बढ्ने अपेक्षा गरिएको छ । अर्कोतर्फ, आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने भएकाले त्यसअघि हुने विभिन्न व्यापारिक र आर्थिक गतिविधिले पनि सरकारको आम्दानी बढाउन सहयोग पुग्ने अर्थ मन्त्रालयको विश्वास छ । लक्ष्यअनुसारको आम्दानी नभएकाले सरकारले आफ्नो अनुमान संशोधन गरे पनि आगामी निर्वाचन र वैदेशिक व्यापारको सुधारबाट स्थिति केही सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।