कोशी प्रदेशका महिला उद्यमीलाई अभिमुखिकरण


विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले उदय परियोजना सहजीकरण इकाईसँगको सहकार्यमा ‘कोशी प्रदेशका महिला उद्यमी र उदयीमान अवसरहरू’ विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रम समितिकी संयोजक श्रुति शर्माको सभापतित्वमा सम्पन्न भएको हो। महिला उद्यमीहरूको वित्तीय व्यवस्थापन, बचत, लगानी, अवसरको पहिचान तथा व्यवसायिक दिगोपनामा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा उदय परियोजनामार्फत साना तथा मझौला उद्यमका लागि आवश्यक पुँजी उपलब्ध गराउने प्रक्रिया र माध्यमबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रमका प्रमुख अतिथि मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह रहेका थिए भने अभिमुखिकरण उदय परियोजना सहजीकरण इकाई, कोशी प्रदेशले प्रदान गरेको थियो ।

स्वागत मन्तव्यका क्रममा संयोजक शर्माले महिलाउद्यम समितिले महिला उद्यमीहरूको सशक्तिकरण, क्षमता अभिवृद्धि, आत्मनिर्भरता र व्यवसायिक विकासका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। बदलिँदो र प्रतिस्पर्धात्मक व्यवसायिक परिवेशमा महिलाको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले ज्ञान, सीप र अवसरको पहिचानमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

प्रमुख अतिथि साहले महिला उद्यमशीलताको विकास र प्रवर्द्धनमा समितिले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उदय परियोजनासँगको समन्वयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन संघ प्रतिबद्ध रहेको जानकारी गराए।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेशकी वित्त तथा वित्तीय क्षेत्र व्यवस्थापन शाखा प्रमुख राजकुमारी राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि, उदय परियोजना सहजीकरण इकाई, कोशी प्रदेशका बीडीएस लिड विष्णु काफ्ले, रिस्क सेयरिङ लिड उत्सव घिमिरे, टिएएफ लिड मोहन गौतम लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार  ०९ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।