काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से २०.७५ अंकले घटेर २६४२.१५ अंकमा झरेको हो ।
मंगलबार कारोबारमा आएका ३५४ कम्पनीका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयरहरु ८३ हजार ७५ पटक किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से ८.१६ अंकले घटेर २६६२.९१ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा झरेको थियो ।
मंगलबार वाणिज्य बैंक समूह ६.१७ अंकले घटेको बजारमा विकास बैंक समूह ६७.३५ अंकले, वित्त समूह ५२.३४ अंकले, होटल तथा पर्यटन समूह ८६.७५ अंकले, जलविद्धुत समूह ५८.१४ अंकले र लगानी समूह ०.५० अंकले घटेको छ ।
त्यसैगरी, जीवनबीमा समूह १०३.७१ अंकले, उत्पादन तथा प्रशोधन समूह ६७.२६ अंकले, लघुवित्त समूह २४.४४ अंकले, निर्जीवन बीमा समूह ८२.२२ अंकले र अन्य समूह १३.४७ अंकले घटेको हो ।
यता, म्यूचुअल फण्ड ०.१२ अंकले र व्यापार समूह ८.३७ अंकले बढेको छ ।
मंगलबार साल्पा विकास बैंक, रिलायन्स् स्पिनिङ मिल्स् तथा वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा भने सुपर माई हाइड्रोपावर लिमिटेड, सिटिजन सन्तुलित योजना तथा सुपर साङ्गे हाइड्रोपावर लिमिटेडका सेयरधनी रहेका छन् ।
सोमबार सेयर बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । सोमबार ४४ खर्ब ७१ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ४४ खर्ब ४४ अर्ब रुपैयाँमा झरेकाे छ । बजारमा आएको याे गिरावटसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा २७ अर्ब रुपैयाँले घटेको हो ।












प्रतिक्रिया