काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक दलहरूले पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन् । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जनासँग जोडिएको पर्यटन क्षेत्र अहिले चुनावी बहसको केन्द्रमा पुगेको छ ।
दलहरुले दिगो पर्यटन, धार्मिक पर्यटन, डिजिटल पर्यटन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय ब्रान्डिङलाई प्राथमिकता दिएका छन्, तर कार्यनीति र दृष्टिकोण भने फरक–फरक देखिन्छ ।
कांग्रेस : पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने लक्ष्यसहित नेपाली कांग्रेसले दिगो पर्यटन विकाससम्बन्धी विस्तृत प्रतिज्ञा सार्वजनिक गरेको छ । पार्टीले आगामी १० वर्षभित्र वार्षिक ३० लाख विदेशी पर्यटक भित्र्याउने तथा पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनको १५–२० प्रतिशतसम्म पु¥याउने लक्ष्य लिएको जनाएको छ ।
कांग्रेसले नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक विविधतालाई उपयोग गर्दै देशलाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने संकल्प गरेको छ । पार्टीले बुद्ध, सगरमाथा र प्राचीन सभ्यताको देशका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाउन जनकपुर–लुम्बिनी–काठमाडौँ आध्यात्मिक करिडोर निर्माण, धार्मिक पर्यटन सर्किट विकास तथा सम्पदाको संरक्षणमा विशेष ध्यान दिने जनाएको छ ।
पर्यटनलाई स्थानीय रोजगारीसँग जोड्न सामुदायिक होमस्टे, सहरी घरवास कार्यक्रम, सांस्कृतिक भिलेज निर्माण र स्थानीय भेषभूषा, खानपान तथा शिल्पकलालाई पर्यटन प्याकेजका रूपमा विकास गर्ने नीति कांग्रेसले अघि सारेको छ । सामुदायिक वन, सिमसार र ग्रामीण क्षेत्रलाई पर्यापर्यटन केन्द्रका रूपमा विकास गरिने पनि उल्लेख गरिएको छ ।
साथै, पर्यटन सेवालाई आधुनिक बनाउन बहुभाषिक डिजिटल पर्यटन प्लेटफर्म, एकीकृत सेवा पोर्टल, डिजिटल सम्पदा अर्काइभ र मोबाइल एप सञ्चालन गर्ने योजना कांग्रेसले अघि सारेको छ ।
त्यसैगरी, नेपाल आउने पर्यटकका लागि हवाई भाडा प्रतिस्पर्धी बनाउने, विमानस्थल शुल्क र इन्धन अधिभार घटाउने, एयर ट्राफिक व्यवस्थापन सुधार गर्ने तथा नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी अलग संरचनामा लैजाने कांग्रेसको योजना छ । साथै, युरोपेली हवाई सुरक्षा सूचीबाट नेपाल हटाउन कूटनीतिक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
नेकपा एमाले : नेकपाा एमालेले प्रतिनिधि सभा निवाचन २०८२ को घोषणापत्रमा पर्यटक आवागमन पाँच वर्षमा दोब्बर बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । सो घोषणापत्रमा नेपाललाई रहस्यमय हिमाली, आश्चर्यजनक प्रकृति, धार्मिक र साँँस्कृतिक विशेषता, विशिष्ट संस्कृति र असाधारण साहसिक पर्यटकको अनुपम अनुभवको अवसर दिने विशिष्ट पर्यटन गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा ब्राण्डिङ गर्ने जनाएको छ ।
नेकपा : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पर्यटनलाई स्मार्ट, डेटा–आधारित र योजनाबद्ध बनाउने नीति अघि सारेको छ । पार्टीले प्रत्येक जिल्ला र पालिकाको पर्यटन प्रोफाइल तयार गर्ने, डिजिटल ड्यासबोर्ड निर्माण गर्ने र एकीकृत डिजिटल पोर्टलमार्फत सेवा उपलब्ध गराउने योजना प्रस्तुत गरेको हो ।
इको–टुरिजम, स्वास्थ्य पर्यटन, जडीबुटी पर्यटन, हिल स्टेशन विकास, नयाँ हिमाल आरोहण क्षेत्र खुला गर्ने र केबलकार निर्माणलाई प्राथमिकतामा राखिएको छ । धार्मिक गन्तव्यहरूमा सडक, पूर्वाधार र सेवा विस्तार गर्ने योजना पनि नेकपाको घोषणापत्रमा समेटिएको छ ।
रास्वपा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षभित्र नेपाल भित्रिने पर्यटक संख्या तथा उनीहरूको प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्यसहित पर्यटन, उड्डयन र यातायात क्षेत्र सुधारका योजना सार्वजनिक गरेको छ ।
पार्टीले औसत बसाइ अवधि बढाउन आवश्यक नीतिहरू कार्यान्वयन गर्ने, ट्रेकिङ केन्द्रित पर्यटनलाई प्रकृति, संस्कृति र समुदायसँग जोडेर विविधीकरण गर्ने तथा कर्णाली र सुदूरपश्चिममा नयाँ पर्यटकीय गन्तव्य विकास गर्ने प्रतिबद्धता जनाएको छ । विगतमा सडक निर्माणले क्षति पुगेका पदमार्गको विकल्प निर्माण गर्न बजेट छुट्याउने योजना पनि सार्वजनिक गरिएको छ ।












प्रतिक्रिया