नेप्से परिसूचकमा सामान्य अंकको सुधार, काराेबार रकममा भने गिरावट


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ । आज नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो ।

सोमबार सेयरबजारमा ३२९ कम्पनीका सेयर कारोबार भएका छन् । ती मध्ये ११३ कम्पनीका सेयरमूल्य बढेका छन् भने १४० कम्पनीका सेयरमूल्यमा गिरावट आएका छन् र ९ कम्पनीका सेउरमूल्य स्थिर रहेका छन् ।

आज कुल १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर ५ अर्ब १३ करोड ८६ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ ।

आइतबार नेप्से २७.५९ अंकले घटेर २६१४.५५ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँमा झरेको थियो ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, लगानी, जीवन बीमा तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । होटेल तथा पर्यटन, जलविद्युत, उत्पादनशील समूह, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा वयापार समूहको परिसूचकमा भने गिरावट आएको छ ।

सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स तथा मेघा म्युचुअल फण्डका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एनआईवीएल समृद्धि फण्ड, मोलुङ हाइड्रोपावर कम्पनी तथा कालीका लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् ।

सोमबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । आइतबार ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण सोमबार ४४ खर्ब २ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ४ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।