नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकममा भने गिरावट


काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से २१.६२ अंकले बढेर २६३८.६० मा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता सेयरहरु ४९ हजार ९३ पटक किनबेच हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से २.४१ अंकले बढेर २६१६.९७ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब १३ करोड ८६ लाख ५० हजार रुपैयाँमा पुगेको थियो ।

मंगलबारकाे काराेबारमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिङ मिल्स र हिमालयन पावरको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ । त्यसैगरी, सागर डिष्टिलरी र बन्दिपुर केबलकारको सेयर मूल्य धेरै बढ्नेको सूचीको शीर्ष ५ मा परेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा नेपाल एसबीआई बैंक पहिलो स्थानमा रहेको छ । मंगलबार नेपाल एसबीआई बैंकको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा आरबीबी म्यूचुअल फण्ड वान, आइसीएफसी फाइनान्स, आरबीबी म्यूचुअल फण्ड टु र एनआईबिएल ग्रोथ रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा एसवाई प्यानल रहेको छ । एसवाई प्यानलको ३७ करोड ७२ लाख ९१ हजार रुपैयाँको सेयर किनबेच हुँदा आँखुखोला हाइड्रोको २४ करोड ६९ लाख ५३ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा राँधी विद्युत रहेको छ भने चौथो स्थानमा ङादी ग्रुप र पाँचौ स्थानमा रिडी पावर कम्पनी रहेको छ ।

मंगलबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । सोमबार ४४ खर्ब २ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ४४ खर्ब ३८ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ३६ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार  १५ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।