काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये १२ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, सामूहिक लगानी कोषहरुका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते हुनेछ भने उक्त अवधिसम्म प्रर्याप्त आवेदन नपरेमा भने चैत २६ गते हुनेछ ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ ।
स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कस्तो छ कम्पनी ?
कम्पनीले सञ्चालन गरेको ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष ४ महिना बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.३७ वर्ष रहेको छ ।












प्रतिक्रिया