नेप्से परिसूचकमा १० अंकले सुधार, कारोबार रकम ४ अर्ब ४५ करोड नाघ्यो


काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल ३३३ कम्पनीका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयरहरु ४८ हजार ६४० पटक किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से २१.६२ अंकले बढेर २६३८.६० अंकमा पुग्दा कारोबार रकम ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँमा पुगेको थियो ।
बुधबारको कारोबारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घट्दा १३ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने वीन नेपाल लघुवित्त र सुपर माई हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले बढ्दा उपर लोहोरे खोला हाइड्रो सेयर मूल्य करिब ५ प्रतिशतले बढेको हो ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा हिमालयन पावर कम्पनी पहिलो स्थानमा रहेको छ । बुधबार हिमालयन पावर कम्पनीको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा कुमारी सवल योजना, एनएमबी ५०, आँखुखोला हाइड्रो र आरबीबी फोकस रहेका छन् ।

बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा आँखुखोला जलविद्युत कम्पनी रहेको छ । आँखुखोला जलविद्युत कम्पनीले २८ करोड ६९ लाख १९ हजार रुपैयाँको सेयर किनबेच हुँदा ङादी ग्रुप पावर कम्पनी २५ करोड ४७ लाख १६ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा एसवाई प्यानल रहेको छ भने चौथो स्थानमा रिडी पावर कम्पनी र पाँचौ स्थानमा बन्दिपुर केबलकार रहेको छ ।

बुधबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । मंगलबार ४४ खर्ब ३८ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४४ खर्ब ५५ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १७ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।