धितोपत्र बोर्ड र सिडिएससीको द्वन्द सतहमा, धितोपत्र बोर्डलाई प्रवीण पन्दाकको अनावश्यक दवाब

कार्यक्रममा बोलाएर सिडिएससीले अतिथीहरुको गरायो गाली गलौज, विवादित कम्पनीको साधारण सभा हो कि छलफल ?


काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) र नेपाल धितोपत्र बोर्डबीचको द्वन्द सतहमा आएको छ । गत साउन दोस्रो साता नेपाल धितोपत्र बोर्डमा सिडिएससीले ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ स्वीकृतिका लागि पठाएको थियो । सो निर्देशिका स्वीकृत नहुने अवस्था देखिएपछि सिडिएससीले धितोपत्र बोर्डलाई दवाब दिन थालेसँगै बोर्ड र सिडिएससीको दुरी बढेको खुलेको हो ।

२०८२ माघदेखि तयारी थालेर गत साउनमा सिडिएससीले धितोपत्र बोर्डमा लगेको निर्देशिकाको मस्यौदा गुपचुप राखेको थियो । यस अघि सिडिएससीले कुनै किसिमको सुनुवाइ गरेको थिएन भने मस्यौदा सार्वजनिक पनि गरेको थिएन । निर्देशिका बजारका लागि जरुरी हो वा होइन भन्ने विषय प्रष्ट नभएपछि बोर्डले स्वीकृति नदिने सम्भावना बढेसँगै सिडिएससीले ७ महिना पछि मस्यौदामा एकतर्फी छलफल गरेको हो । यस अघि सम्बद्ध पक्ष, निकाय तथा सरोकारवालासँग छलफल गर्न जरुरी नठानेको सिडिएससीले बोर्ड सकरात्मक नहुने संकेत पाएपछि दवाबका लागि मस्यौदा बुझाएको ७ महिना बितेपछि सो सम्बन्धमा छलफल गरेको हो ।

सोमबार सिडिएससीले राजधानीको एक तारे होटलमा आयोजना गरेको छलफल कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ प्रमुख अतिथि रहने उद्घोष गरियो । त्यसैगरी नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड नेप्सेका अध्यक्ष हेमन्त बस्याललाई पनि अतिथीका रुपमा मञ्चमा बोलाइयो । तर अतिथीहरुको नाम उच्चारण गर्दै जाँदा कार्यक्रमस्थलमा उल्लेखित व्यक्तिहरु मात्र नभई सम्बन्धित संस्थाका एक जना प्रतिनिधि पनि उपस्थित भएनन् । अनि खुल्यो बोर्ड अध्यक्ष श्रेष्ठले आफु कार्यक्रममा आउन नसक्ने जानकारी गराउँदा गराउँदै सिडिएससीले जबरजस्ती उनलाई कार्यक्रमको प्रमुख अतिथी बनाएको भेद ।

कार्यक्रम गर्ने हलमा निम्ता गरिएका व्यक्तिहरु उपस्थित नभएपछि केहीबेर कोलाहल मच्चियो । कोही हाँस्न थाले, कोही आक्रोशित हुन । आसन ग्रहणका लागि बोलाइएको व्यक्तिको संख्या २ दर्जन बढी थियो भने मञ्चमा पुग्नेको संख्या ६ जना हाराहारी थियो ।

नेप्सेका कम्पनी सचिव गिरीराज दाहालको पनि नाम उच्चारण भएको थियो उनी पनि कार्यक्रममा सहभागी भएनन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष, मर्चेण्ट बैंकर एशोसिएशन, लगानीकर्ताका संघ संस्था र सिमित सञ्चार माध्यमलाई निमन्त्रणा गरिएको कार्यक्रमका एकाध बाहेकका अतिथीहरुको सूची ‘अन द स्पट’ तयार गरिएको थियो ।

सिडिएससीका वरिष्ठ अधिकृत देवराज रिजालले निर्धारित समयभन्दा केही बेर ढिलो गरेर कार्यक्रमको सुरुवात गरे । सुरुमै सिडिएससीकी प्रबन्ध सञ्चालक प्रवीण पन्दाकको ४० मिनेटको प्रस्तुती रहने भन्दै निम्ता गरियो । मञ्चमा प्रमुख अतिथी सहित ६० प्रतिशतभन्दा बढी अनुपस्थित थिए । कार्यक्रमका सहभागीभन्दा बढी अतिथी हुने अवस्थालाई उनीहरुको अनुपस्थितीले सन्तुलन गरेको थियो ।

चेम्बर अध्यक्ष, इपान अध्यक्ष, उद्योग परिसंघको बैंक बीमा समिति प्रमुख, उद्योग वाणिज्य महासंघका प्रतिनिधिको उपस्थितीमा पन्दाकले आफ्नो प्रस्तुती सुरु गरिन् । धितोपत्र बोर्डसँगको सल्लाहमा निर्देशिका बनाउन सुरु गरिएको बताएकी उनले निर्देशिका अघि नबढाउन चौतर्फी रुपमा आक्रमण भएको, मानसिक हिंसाको सामना गर्नुपरेको भन्दै समवेदना बटुल्ने कोशिस गरिन् । नीति निर्माण भावनाले हुन्छ वा आवश्यक्ताले भन्ने विषयमा तत् समयमा उनी भावनाले उत्प्रेरित भएको आभाष कार्यक्रम हलले गर्यो ।

आफुले पटक पटक बोर्डमा गएर निर्देशिकाको औचित्य बुझाउन खोजे पनि असफल भएको बताएकी उनले कुनै पनि हालतमा बोर्डले निर्देशिका स्वीकृत गराउनै पर्ने किसिमको अभिव्यक्ति दिइन् । उनको सो अभिव्यक्ति, धितोपत्र बोर्डका एक जनाको पनि उपस्थिती नहुनु लगायतले सिडिएससी र बोर्डको दूरी बढेको आभाष हललाई गराइरहेको थियो ।

उनले दोहोरो आइजिनको अभावमा कम्पनीका संस्थापक तथा प्रवद्र्धकहरुले लकइन अगावै सेयर बेचेर नियमको परिपालना नगरेको बताइन् । कम्पनीको नाम नखुलाइएको एक कम्पनीको तथ्यांक प्रस्तुत गरेकी उनले कुन कुन कम्पनीले कति कित्ता सेयर कुन समयमा गलत किसिमले बिक्री गरे भन्ने बिवरण प्रस्तुत गर्न सकिनन् । कार्यक्रममा उपस्थित सबैले सो विबरण आउने अपेक्षा गरेका थिए, जसले पन्दाकले एकल रुपमा अघि सारिरहेको दोहोरो आइजिनको मुद्धालाई केही दरिलो बनाउला भन्ने अपेक्षा कार्यक्रममा उपस्थित भएकाहरुले गरिरहेका थिए ।

सतही रुपमा सेयर बिक्री भयो भन्ने भाष्य दोहोर्याउँदै गएकी उनले त्यस्तो कारोबार गर्नेको पहिचान र कार्वाही सिडिएससीको दायरामा नपर्ने भन्दै धितोपत्र बोर्डतिर धारे हात लगाएकी थिइन् । उक्त समयमा केही उपस्थितहरुका बिचमा चर्चा पनि भयो, “बेचेर खाए मात्र भनेर नहुने हो, सबै कम्पनी र व्यक्तिको विबरण सार्वजनिक गर्ने हिम्मत जुटाउने भए पो विश्वास गर्नु । मिलेर खाए होला, अहिले कुरो नमिलेपछि बखेडा झिकेको मात्र हो ।” अर्को टेबलमा ‘गसिप’ चलिरहेको थियो, “कार्वाहीको विषय आफ्नो दायरामा पर्दैन भने नियमनमा किन सकसक लागेको होला पन्दाक जीलाई ?”

निर्देशिकालाई बोर्डले स्वीकृती नदिएको अवस्थामा पन्दाकले एक वर्ष अघिदेखि निष्काशन भएका साधारण सेयरको संस्थापक सेयर किन दर्ता नगर्ने, सम्बन्धित सेयरधनीको खातामा पठाउने काम गरिनन् भन्ने प्रश्न खुला रुपमा बहस भइरहेको थियो । पन्दाकले नै कार्यक्रममा निर्देशिका स्वीकृत भएर मात्र आफु यसरी छलफलमा बस्न पाएको भए आफु खुसी हुने बताइरहेकी थिइन् ।

भिडियो ।

झण्डै सवा १ घण्टा लामो अवधिसम्म प्रस्तुती दिएकी पन्दाकले द एशोसिएसन अफ नेशनल नम्बर एजेन्सी (अन्ना) ले उल्लेख गरेको आइजिनको व्यवस्था व्याख्या गरिन तर अन्नाका सिडिएससी जस्तै अढाई सयभन्दा बढी सदस्यले दोहोरो आईजिनको अभ्यास गरे नगरेको विबरण र तथ्य कार्यक्रममा प्रस्तुत गरिनन् ।

धितोपत्र बोर्डले ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ रोकेको भन्दै असन्तुष्टि जनाएकी उनले धितोपत्र बोर्डले अड्डी कस्ने नभई व्यवहारिक बनेर कम्पनीहरुको सेयर बन्धक नगर्न कति पटक पत्राचार गरेको छ भन्ने तथ्य भने कार्यक्रमलाई जानकारी गराइनन् । उनको एकोहोरो ढिपी बुझेकाहरुले कार्यक्रमस्थलमा अहिलेको अवस्थालाई ‘बाउभन्दा बच्चा बाठो भएपछि’ को संज्ञा दिन भ्याएका थिए ।

कार्यक्रम समापन हुने समयसम्म पुग्दा सिडिएससीले लगानीकर्ताका धेरै संघ संघठन मध्येका केही संगठनलाई साथमा लिएर दोहोरो आइजिनको पक्षमा मत जुटाउन खाजेको देखिएको थियो । कार्यक्रममा नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले धितोपत्र बोर्डका अध्यक्षको अनुपस्थितीको विषयलाई तल्लो स्तरमा झरेर गाली गर्न भ्याए । कार्यक्रम भएको हलको अघिल्लो भागमा रहेको एक टेबलमा सामुहिक रुपमा बसेका लगानीकर्ताको टोलीले दोहोरो आइजिनको पक्षमा आवाज आउँदा ताली बजाउने र विपक्षमा मन्तव्य दिनेलाई गाली गर्ने किसिमको वातावरण बनेको थियो । लामो समय चलेको कार्यक्रममा वक्ताहरु बोल्दै बाहिर गएपछि उनीहरुले कुनै कम्पनीको साधारण सभामा उत्पन्न विवाद जसरी कार्यक्रमका अतिथीहरुलाई गाली गर्न भ्याए । सिडिएससी प्रमुख पन्दाकले कार्यक्रम हलमा मिडिया पनि उपस्थित भएको भन्दै उनीहरुलाई शान्त बनाएकी थिइन् ।

भिडियो ।

कार्यक्रममा नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले दोहोरो आइजिनको अभियान आफुहरुले सुरु गरेको खुलाएका थिए । उनले सूचीकृत कम्पनीको प्रवद्र्धकहरुलाई वित्तीय आतंककारीको संज्ञा दिँदै दोहोरो आइजिनको बिरोध गर्नेलाई दोस्रो बजारमा कम्पनीहरु नल्याउन र साधारण सेयर निष्काशन नगरी बस्न चेतावनी दिए ।

भिडियो ।

कार्यक्रममा मन्तव्य राखेर निस्किएका इपानका अध्यक्ष गणेश कार्की, उद्योग परिसंघको बैंक तथा वित्त समितिका सभापति वरुण कुमार तोदी लगायतको बिरुद्धमा नाराबाजी गर्दै अघिल्लो टेबलमा रहेका लगानीकर्ताका संघ संस्थाका प्रतिनिधिहरुले तल्लो स्तरमा गाली गलौज गरेका थिए । उक्त दृष्य हेर्दा कुनै कम्पनीको विवादास्पद एजेण्डा साधारण सभामा प्रस्तुत भइरहेको आभाष कार्यक्रम हलले गरिरहेको थियो ।

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पाकहरुको संस्था, नेपाल (इपान) का अध्यक्षले दोहारो आइजिनको खुलेर बिरोध गरे । उनले दीर्घकालीन नीति नियम बनाउन सुझाव दिँदै कम्पनीहरुलाई सताउने काम गर्नुभन्दा साधारण सेयर निष्काशनमा नै रोक लगाउन नियामकहरुलाई सुझाव दिए । लकइनमा रहेका कम्पनीको सेयर बिक्री गर्नेलाई कारबाही गर्न नसक्नु नियामक निकायको कमजोरी रहेको बताएका उनले सरकार, नियामक निकाय र राजनितिक दलहरुको दोहोरो चरित्रले समस्या भइरहेकोतर्फ कार्यक्रमको ध्यानाकर्षण गराएका थिए । उनले लकइन व्यवस्थापनमा दोहोरो आईजिन नलगाइ नछाड्ने अवस्थामा ५ थरी आइजिनको परिकल्पना गरी सेयरधितो कर्जा, संस्थापक, स्थानीय जस्ता अलग अलग आइजिन बनाउन व्यंगात्मक रुपमा सुझाव दिए ।

भिडियो ।

नेपाल उद्योग वाणिज्य महासंघका भरत आचार्यले आफु सेयर बजारका सम्बन्धमा जानकार नभएको बताउँदै निजी क्षेत्र र लगानीको वाताबरण बिगार्ने किसिमका नीति अवलम्बन नगर्न सुझाव दिए ।

नेपाल उद्योग परिसंघको बैंक तथा वित्त समितिका सभापति वरुण कुमार तोदीले पनि दोहोरो आईजिनले लगानीको वातावरण धमिलो बनाउनेतर्फ सचेत गराएका थिए । उनले बैंक बीमाको दोहोरो आइजिनका कारण समस्या भइरहेको अवस्थामा अन्य क्षेत्रमा दोहोरो आइजिनको अवधारणा उचित नहुने बताएका थिए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले एक कम्पनी एक आईजिनको परिकल्पना गर्नुपर्नेमा जोड दिए ।

भिडियो ।

दोहारो आइजिनले लगानीको वाताबरण बिगार्ने बताएका उनले बैंक तथा बीमा कम्पनीमा पनि एकल आइजिन कायम गरिनुपर्ने बताए । एउटा कम्पनीको दुई थरी सेयरमूल्य कायम गरिनु गलत भएको उनको तर्क थियो ।

भिडियो ।

कार्यक्रममा आरबिबि मर्चेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले दोहोरो आइजिन कायम गर्दा फरक नपर्ने बताए । तर दोहोरो आइजिन कायम गर्दा अहिले उठान भएको लक इनको सेयर बिक्री गर्ने परिपाटीको अन्त्य हुन्छ वा हुँदैन भन्ने प्रश्न सान्दर्भिक हुने उनको भनाई थियो ।

कार्यक्रममा लगानीकर्ताका तर्फबाट प्रकाश रजौरे, ब्रोकरका तर्फबाट परमेश्वरभक्त मल्ल लगायतले स्वीकृत नै नभएको आइजिन निर्देशिकाको खुलेर स्वागत गरेका थिए । मर्चेण्ट बैंकर एशोसिएशनको कार्यक्रममा उपस्थिती भए पनि मन्तव्यमा बोलाइएका बेला उनीहरु कार्यक्रम हलमा थिएनन् ।

कार्यक्रममा निर्धारित व्यक्तिलाई मात्र हलबाट बोल्न र प्रश्न सोध्न दिने किसिमको वाताबरण बनाइएको थियो । प्रश्नोत्तर सेसनमा अघिल्लो पंक्तिको टेबलमा रहेका लगानीकर्ताका केही प्रतिनिधि बाहेक अरुलाई प्रश्न सोध्ने अनुमति दिइएको थिएन । दोहोरो आइजिनको अभियान आफुहरुले सुरु गरेको बताउने व्यक्तिहरु बाहेकले कार्यक्रममा जिज्ञासा राख्न पाएनन् । कार्यक्रमको सुरुवाती समयमा देखिएका अनुहारहरु केही बेरपछि हल छाडेर बाहिर निस्किसकेका थिए भने निर्देशिकाको पक्षमा उभ्याइएका केही व्यक्तिहरु मात्र कार्यक्रमको अन्तिमसम्म बसेका थिए ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार  १६ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।