चुनावपछिको पहिलोदिन ३ पटक सर्किट लागेको सेयरबजार दोस्रोदिन ३२ अंकले घट्यो


काठमाडौँ । चुनावपछि पहिलो पटक बजार खुल्दा सोमबार तीन पटक सर्किट ब्रेक लागेर १२ बजे नै बन्द भएको सेयर बजारमा दोस्रो दिन सोमबार भने ३२ अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा ओर्लिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयरहरु २ लाख ५ हजार ६११ पटक किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार १६२.९३ अंकले बढेको सेयर बजार १२ बजेसम्म कारोबार हुँदा ५५ करोड ५९ लाख ६३ हजारको कारोबार भएको थियो ।

मंगलबारको कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै, थ्री स्टार हाइड्रोपावर, कालिका पावर कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा हिम स्टार उर्जा पहिलो स्थानमा रहेको छ । मंगलबार हिम स्टार उर्जाको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा मितेरी डेभलपमेन्ट बैंक, मैलुङखोला हाइड्रो एनआइसी एसिया ब्यालेन्स फण्ड र मञ्जुश्री फाइन्यान्स रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा ङादी ग्रुप पावर रहेको छ । ङादी ग्रुप पावरले १ अर्ब ९ करोड ७३ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच हुँदा आँखुखोला हाइड्रो ६९ करोड ६४ लाख ३८ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा अपी पावर कम्पनी रहेको छ भने चौथो स्थानमा रिडी पावर कम्पनी र पाँचौ स्थानमा शिभम् सिमेन्ट रहेको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।