काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको १ करोड ५ लाख १४ हजार २५८ मत गणना सकिँदा ६ वटा राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने र प्रत्यक्षमा १ सिट जित्ने जम्मा ६ वटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका हुन् ।
आयोगका अनुसार समानुपातिक प्रणालीमा कुल ५७ दलहरुले मत पाएका छन् । ती दलहरुले पाएको कुल १ करोड ५ लाख १४ हजार २५८ मत गणना हुँदा ३ प्रतिशत पु¥याउन कम्तीमा ३ लाख १५ हजार ४२७ मत आवश्यक पर्छ । यो तथ्यांक मंगलबार साँझ ४ बजेसम्मको हो । मत गणनाको तथ्यांक बढ्दा दलहरुको मत संख्यामा केही वृद्धि हुन्छ, तर धेरै फरक पर्ने हुँदैन ।
मुख्य ६ दल बाहेक अन्य दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ । अर्थात ५७ मध्ये ५१ दलहरु समानुपातिक प्रणालीबाट बाहिरिएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र ३ प्रतिशत मत कटाएका छन् र प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट पाउने दल यिनै हुन् । अरु दलले प्रत्यक्षतर्फ १ सिट पनि ल्याउन सकेनन् भने समानुपातिकमा ३ प्रतिशत मत ल्याउन सकेनन् ।
४ बजेको तथ्यांक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ५८ सिट पाउने देखिएको छ । उसले ४ बजेसम्ममा ५० लाख ४० हजार ५२२ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ७ हजार ७३४ मत पाउँदा २० सिट पाउने देखिएको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालले १४ लाख २४ हजार ८१२ मतबाट १७ सिट पाउने देखिएको छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ७६ हजार ४२८ मतबाट ८ सिट पाउने देखिन्छ ।
पाँचौं स्थानको श्रम संस्कृति पार्टीले ३ लाख ६५ हजार ४०६ मतबाट ४ सिट पाउने देखिन्छ ।
छैठौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २६ हजार ६०२ मतबाट ३ सिट पाउने देखिन्छ ।
दलले प्राप्त गरेको सिट संख्या कसरी गणना गर्ने ?
समानुपातिकतर्फको ११० सिट बाँड्नका लागि एउटा विशेष कानुनी प्रक्रिया अपनाइन्छ । सबैभन्दा पहिले, कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउने दलहरू मात्रै यो प्रक्रियामा सहभागी गराइन्छ । साथै कुनै पनि दलले समानुपातिमा सिट पाउनको लागि कम्तिमा १ सिट प्रत्यक्षमा जितेको हुनुपर्छ । माथि उल्लेख गरिएका ६ दलहरु यो मापदण्ड पुरा गर्ने दलको सूचीमा परेका छन् भने ५१ दलहरु मापदण्ड नपुगी प्रकृयाबाट बाहिरिएका छन् ।
१. थ्रेसहोल्ड कटाउने दलको मत मात्रै जोड्ने
निर्वाचन आयोगका अनुसार मंगलबार ४ बजेसम्मको गणना अनुसार ५७ वटा दलले कुल १ करोड ५ लाख १४ हजार २५८ मत ल्याएका छन् ।
सबैभन्दा पहिले ३ प्रतिशत भन्दा कम मत ल्याउने ५१ दलहरूलाई प्रतिस्पर्धाबाट हटाइएको छ । बाँकी रहेका ६ वटा दलले पाएको जम्मा मत जोडिएको छ, जुन ९६ लाख ४१ हजार ५०४ हुन आउँछ ।
२. एउटा सिटको संख्या निकाल्ने
समानुपातिकमा जम्मा ११० सिट हुने भएकाले ६ दलले प्राप्त गरेको जम्मा मत ९६ लाख ४१ हजार ५०४ लाई ११० ले भाग गरिएको छ । ९६ लाख ४१ हजार ५०४ लाई ११० ले भाग गर्दा करिब ८७ हजार ६५० मत आउँछ । यसको अर्थ ८७ हजार ६५० मत लाई एक सिट कायम गरिन्छ । यसरी सिट कायम गर्दा बाँकी रहेको मतलाई बाँकी मतका रुपमा राखिन्छ ।
३. दलको मतलाई सिटको मूल्यले भाग गर्ने
अब कुनै पनि दलले कति सिट पाउँछ भनेर जान्न उसले पाएको कुल मतलाई सिटको मूल्य ८७ हजार ६५० ले भाग गरिन्छ ।
रास्वपाको सिट गणना गर्दा उसले पाएको कुल ५० लाख ४० हजार ५२२ मतलाई ८७ हजार ६५० ले भाग गर्दा ५७.४२ हुन आउँछ । यहाँ ५७ सिट अलग गरी बाँकी मतलाई अलग राखिन्छ ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसको १७ लाख ७ हजार ७३४ मतलाई ८७ हजार ६५० ले भाग गर्दा १९.४८ हुन आउँछ । यहाँ पनि १९ सिट निश्चित गरी बाँकी मतलाई अलग गरि राखिन्छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेको १४ लाख २४ हजार ८१२ मतलाई ८७ हजार ६५० ले भाग गर्दा १६.२५ हुन आउँछ । एमालेको १६ सिट सुरक्षित गरी बाँकी रहेको मतलाई अलग राखिन्छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीको ७ लाख ७६ हजार ४२८ मतलाई ८७ हजार ६५० ले भाग गर्दा ८.८५ हुन आउँछ । नेकपाको ८ सिट कायम गरी बाँकी मतलाई पनि अलग्याइन्छ ।
पाँचौं स्थानको श्रम संस्कृति पार्टीको ३ लाख ६५ हजार ४०६ मतलाई ८७ हजार ६५० ले भाग गर्दा ४.१६ हुन आउँछ । उसको ४ सिट सुरक्षित गरी बाँकी मतलाई अलग राखिन्छ ।
छैठौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको ३ लाख २६ हजार ६०२ मतलाई पनि ८७ हजार ६५० ले भाग गर्दा ३.७२ हुन आउँछ ।
राप्रपाको पनि अन्य दलको जस्तै ३ सिट सुरक्षित गरी बाँकी मतलाई अलग राखिन्छ ।
यसरी सिट संख्या निर्धारण गर्दा ११० मध्ये १०७ सिट मात्र निश्चित हुने भएकाले एक सिटको मत नपुगेका माथि अलग गरेर राखिएका मतलाई शीर्ष ३ दलको सिटमा एक एक सिट थप गरी ११० सिट कायम गरिन्छ । यस आधारमा रास्वपाको ५७ मा एक सिट थप भइ ५८ हुन्छ, काँग्रेसको १९ मा एक थप भइ २० सिट कायम हुन्छ भने एमालेको १६ मा एक थप भई १७ सिट कायम हुन्छ ।
चौथो नेकपा, पाँचौ श्रम संस्कृति र छैठौं राप्रपाको भने क्रमशः ८, ४ र ३ सिट कायम हुन्छ ।
जुन दलले धेरै भोट ल्याउँछ, उसले त्यति नै धेरै सिट प्राप्त गर्ने यो पद्धतीको गणना सेन्ट लग विधिबाट हुने गर्दछ । उक्त विधीबाट हुने गणना सर्वसाधारणले बुझन नसक्ने किसिमको हुने भएकाले यहाँ सोही विधिको सरल रुपमा तथ्यांक प्रस्तुत गरिएको छ ।
निर्वाचन आयोगले प्रयोग गर्ने सेन्ट लग विधिबाट हेर्दा पनि माथि प्रस्तुत गरिएको तथ्यांक आउँछ । यो विधि झण्झटिलो छ । यो विधिसँग मिल्ने भएकाले माथिको विधिबाट प्रारम्भिक गणना गर्न सहज होस् भनेर यो सामग्री प्रकाशित गरिएको छ । अन्तिम मत गणनाले दलहरुको अन्तिम सिट नतिजा निश्चय गर्नेछ, यद्यपी उल्लेदित तथ्यांकहरुमा ठुलो फेरबदल हुनेछैन ।












प्रतिक्रिया