दोहोरो अंकले बढ्यो नेप्से, १४ अर्बको कारोबार


काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसुचक दोहोरो अंकले बढेको छ । आज नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दु कायम भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३३५ कम्पनीका ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयरहरु १ लाख ३० हजार १५ पटक किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से ४६.७८ अंकले घटेर २७९६.५७ अंकमा पुग्दा कारोबार रकम १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँमा पुगेको थियो ।

बिहीबारको कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेश्नल हाइड्रो, होटल फरेष्ट र दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा कुमारी सबल योजना पहिलो स्थानमा रहेको छ । बुधबार कुमारी सबल योजनाको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा एनआइबिएल ग्रोथ फण्ड, त्रिसुली जलविद्युत, आँखुखोला हाइड्रे र कालिका पावर रहेका छन् ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा नेस्नल हाइड्रो पावर रहेको छ । नेस्नल हाइड्रो पावरले ६७ करोड ७९ लाख ४३ हजार रुपैयाँको सेयर किनबेच हुँदा हाइड्रो इलेक्ट्रीसिटी कम्पनी ५६ करोड ८३ लाख ६९ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा कुमारी बैंक लिमिटेड रहेको छ भने चौथो स्थानमा हिमाल दोलखा हाइड्रो र पाँचौ स्थानमा बलेफी हाइड्रो रहेको छ ।

बिहीबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । बुधबार ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४७ खर्ब ४४ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ४० अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।