काठमाडौँ । पछिल्लो समय डिजिटल भुक्तानीको लहर फराकिलो बन्दै गएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो ।
केही वर्षअघिसम्म कुनै सामान किन्नुपरे वा कसैलाई पैसा दिनुपरे नगदै बोकेर हिँड्नुपर्ने अवस्था थियो । बैंकमा जम्मा गरिएको रकम निकाल्न घन्टौँ लाइनमा बसेर चेकबाट निकाल्नुपर्ने अवस्था थियो । तर, बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढेसँगै यो क्रम बिस्तारै घट्दै गएको हो ।
डिजिटल प्रविधिमा आएको विकाससँगै डिजिटल बैंकिङ कारोबार बढेको छ । स्मार्टफोनको प्रयोग र इन्टरनेट पहुँच वृद्धिपछि मानिसले अहिले सहज र भरपर्दो माध्यमतर्फ आकर्षित हन थालेका छन् । मोबाइल बैंकिङ, क्युआर, वालेट, इन्टरनेट बैंकिङको प्रयोगले डिजिटल कारोबार सुरक्षित र विश्वसनीय बन्दै गएकोले प्रयोगकर्तामा आकर्षण बढेको हो ।
यी विभिन्न साधनहरुबाट चालु आर्थिक वर्षको माघ महिनामा मात्र १५ खर्ब ५८ अर्ब ९९ करोड ७ लाख रुपैयाँ डिजिटल कारोबार भएको छ । मौद्रिक कारोबारहरु भौतिकभन्दा विद्युतीय प्रणालीबाट अत्याधिक हुँदै गएपछि विद्युतीय भुक्तानीको कारोबार बढेको हो । माघ महिनामा सबैभन्दा बढी मोबाइल बैंकिङबाट ५ खर्ब ५८ अर्ब ४९ करोड रुपैयाँ कारोबार भएको छ । त्यस्तै, फास्टर पेमेन्ट सिस्टमबाट ५ खर्ब ३५ अर्ब ९२ करोड रुपैयाँ, कनेक्ट आइपिएसबाट २ खर्ब ६३ अर्ब ८४ करोड रुपैयाँ, इन्टरनेट बैंकिङबाट २३ अर्ब ९२ करोड रुपैयाँ र क्यूआर पेमेन्टबाट १ खर्ब २५ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रविधिको प्रयोग बढेसँगै सार्वजनिक सेवा लिने क्रममा सर्वसाधारणले भोग्दै समस्याको पनि अन्त्य छ । नेपाल विद्युत् प्राधिकरण, खानेपानी संस्थान र नेपाल टेलिकमजस्ता सार्वजनिक संस्थानहरूले संकलन गर्ने महसुलको आधाभन्दा बढी हिस्सा अहिले अनलाइन माध्यमबाटै भुक्तानी हुने गरेको छ ।
डिजिटल कारोबारले आफ्नो व्यवसायमा थप सहजता भएको नयाँ बानेश्वर, मिनभवनका किराना व्यापारी अशोक कार्की बताउँछन् । धेरैजसो भुक्तानी उनी क्युआरकै माध्यमबाट लिन्छन् । पैसा आयो कि आएन भन्ने जानकारीका लागि उनले साउन्ड बक्स समेत जोडेका छन् । रकम प्राप्त हुनेबित्तिकै आवाज आउँछ, अनि उनी सामान दिन्छन् ।
‘अनलाइनबाट पैसा लिँदा साह्रै सजिलो भएको छ’ उनी भन्छन्, ‘दिनभरि बेचेको पैसा बैंकमा पु¥याउन जानु पनि परेन, सिधै खातामा आइहाल्यो’, उनका अनुसार, पहिले पहिले अघिल्लो दिन व्यापार गरेको रकम भोलिपल्ट बैंकमा जम्मा गर्न घन्टौँ लाइन बस्नु पर्थ्यो । अहिले समयको बचत भएको छ । सबैभन्दा ठूलो फाइदा भनेको खुद्रा पैसा व्यवस्थापनको समस्या समाधान गर्नु हो । नगद कारोबार गर्दा १०–२० रुपैयाँ फिर्ता दिन खुद्रा नभएर सास्ती हुने गथ्र्यो । तर, डिजिटल कारोबारमा जति बिल उठ्यो, ठ्याक्कै त्यति नै ग्राहकको खाताबाट काटिन्छ र व्यापारीको खातामा जम्मा हुन्छ, जसले हिसाब–किताबलाई दुरुस्त बनाइदिन्छ ।
‘पसल बन्द गर्ने बेलामा कति पैसा जम्मा भयो भनेर गनिरहनु पर्दैन । दिनभरिको हिसाब एकै पटक मोबाइलबाटै हेर्न मिल्छ’, उनले सुनाए ।कार्की मात्र नभई सोही स्थानमा तरकारी व्यापार गर्दै आएकी सुमित्रा खड्का पनि डिजिटल कारोबारले आफ्नो दैनिकी नै परिवर्तन भएको सुनाउँछिन् ।
‘खुद्रा पैसा नभएर कति पटक आफूले घाटा व्यहोनु पर्थ्यो’ उनले भनिन्, ‘नक्कली पैसा हुन्थ्यो, च्यातिएको हुन्थ्यो, यो सबै समस्या डिजिटल कारोबारले समाधान गरिदिएको छ ।’
उनका अनुसार, अहिले त नगद दिने ग्राहक त आउनै छाडे, उल्टै हजुरसँग क्यास छ म क्यूआर गर्दिन्छु भन्छन् । आफुले सामान खरिद गर्दा पनि क्यूआरबाट नै पेमेन्ट गर्छु । पछिल्ला वर्षहरूमा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । डिजिटल कारोबारका विभिन्न फाइदासँगै केही चुनौती तथा बेफाइदा पनि रहेको उनले जानकारी दिए ।
उनका अनुसार, डिजिटल कारोबारमा साइबर सुरक्षा ठूलो चुनौती बनेको छ । नेपालमा साइबर अपराधको दर बढ्दै गइरहेको छ । ह्याकरहरूले व्यक्तिगत विवरण चोरी गर्न सक्छन्, जसले बैंक खातामा रहेको रकम केही समयमा नै गायब हुने गर्छ । त्यस्ता घटनाबाट जोगिन बैंकहरुले जानकारी दिने गरेको छ ।










प्रतिक्रिया