सेयर बजारमा चमक : नेप्से परिसूचक ६४ अंकले बढ्दा, २१ अर्ब २२ करोडको कारोबार


काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा चमक आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा कायम भएको छ ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचन परिणामले अन्तिम रुप पाएसँगै नयाँ सरकार गठनको तयारी हुँदा सेयर बजार तीब्र अंकले बढेर आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार कुल ३४२ कम्पनीका ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयरहरु १ लाख ९१ हजार २५१ पटक किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२.३४ अंकमा पुग्दा कारोबार रकम १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँमा पुगेको थियो ।

बिहीबारको कारोबारमा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सोलु हाइड्रोपावर र होटल फरेष्टको सेयर मूल्य धेरै बढ्ने सूचीको शीर्ष ५ मा परेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा नेपाल लाइफ समृद्धि लगानी योजना पहिलो स्थानमा रहेको छ । बिहीबार नेपाल लाइफ समृद्धि लगानी योजनाको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा एभरेष्ट बैंक, महुली लघुवित्त, एनआइसी एसिया डेभेन्चर र मञ्जुश्री फाइन्यान्स रहेका छन् ।

बिहीबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा ङादी ग्रुप पावर कम्पनी रहेको छ । ङादी ग्रुप पावर कम्पनीको ६७ करोड १६ लाख १६ हजार रुपैयाँको सेयर किनबेच हुँदा नेश्नल हाइड्रोको ६६ करोड ९० लाख ६४ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रिडी पावर कम्पनी रहेको छ भने चौथो स्थानमा आँखुखोला हाइड्रो र पाँचौ स्थानमा अपर तामाकोशी हाइड्रो रहेको छ ।

बिहीबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । मंगलबार ४७ खर्ब ६६ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बिहीबार ४८ खर्ब ७६ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा १ खर्ब १० अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।