कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट ३७ करोड ८३ लाख रुपैयाँ र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट १२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट नौ करोड ३५ लाख ८२ हजार रुपैयाँ तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट ८८ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।












प्रतिक्रिया