संघद्वारा आयोजित २४ दिने सीप स्तरोन्नति तालिम सम्पन्न


मोरङ उद्योग व्यापार संघ र ईन्स्योर परियोजनाको सहकार्य तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा गत चैत्र १ गते देखि संघमा सञ्चालन गरिएको ‘हिटिङ, भेन्टीलेसन, एसी प्रणाली विषयक २४ दिने सीप स्तरोन्नति तालिम सफलतापूर्वक सम्पन्न भई आज समापन गरिएको छ । मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको सभापतित्वमा संघको समृद्धि हलमा आज उक्त तालिमको समापन गरिएको हो ।

औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको सीप अभिवृद्धि गरी उत्पादन क्षमता वृद्धि तथा उद्योगहरुको समग्र कार्यक्षमता सुदृढ बनाउने मुख्य उद्देश्यका साथ संघका सदस्य अमित राठीको संयोजकत्वमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा कार्यरत मेकानिकल क्षेत्रका श्रमिकहरुलाई लक्षित गरी २०८२ चैत १ गतेदेखि चैत २४ गतेसम्म संघमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य राख्ने क्रममा कार्यक्रमका सभापति एवं संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले संघले विगतदेखि नै औद्योगिक÷व्यवसायिक प्रतिष्ठानहरुलाई आवश्यक पर्ने विभिन्न विषयगत सीप विकास कार्यक्रमहरु क्रमिक रुपमा सञ्चालन गर्दै आएको बताएका थिए । साथै उनले हाल ईन्स्योर÷हेल्भेटससँगको सहकार्यमा सम्पन्न सो तालिमले उद्योग, होटल तथा अस्पताल क्षेत्रमा कार्यरत इलेक्ट्रिसियनहरुको दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उद्योग÷व्यवसाय क्षेत्रको आवश्यकता अनुरुप आगामी दिनहरुमा पनि थप मागमुखी तालिमहरु सञ्चालन गरिने प्रतिबद्धता जाहेर गरेका थिए ।

सोही अवसरमा उक्त तालिमका संयोजक अमित राठीले सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत जनशक्तिको सीप विकासलाई प्राथमिकतामा राख्दै निकट भविष्यमा समेत संघबाट अझ स्तरीय स्तोरन्नति तालिमहरु सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। त्यसैगरी, ईन्स्योर परियोजना सहजिकरण ईकाई, कोशी प्रदेशका प्राविधिक संयोजक रेखा उप्रेतीले यस्ता प्रकारका तालिमहरुले औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि संघसँगको सहकार्यमा यस प्रकारका थप तालिमहरु सञ्चालन गरिने बताएका थिए ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।