गाडी भाडा फेरि बढाउन यातायात व्यवसायीको माग


काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको अनियन्त्रित मूल्यवृद्धिका कारण यातायात क्षेत्रमा संकट पैदा भएको भन्दै यातायात व्यवसायीले फेरी भाडा समायोजन गर्न माग गरेका छन् । सरकारले डिजेलको मूल्य बढाएसँगै भाडा वृद्धि गरेको एक साता पनि नबित्दै पुनः इन्धनको मूल्यमा भारी वृद्धि भएपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।

पछिल्लो समय डिजेलको मूल्यवृद्धिले यातायात व्यवसाय धान्नै नसकिने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति मार्फत जनाएको छ ।

साथै, इन्धनको मूल्य वृद्धिको तुलनामा हालै गरिएको भाडा समायोजन अपर्याप्त रहेको र यसले व्यवसायीको लागत खर्च नउठ्ने दाबी गरेको छ ।

गत चैत २५ गते केन्द्र सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो । यातायात व्यवस्था विभागले १३ वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिश, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ । त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइसकेको छ । नेपाल आयल निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको थियो ।

नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।यसअघि चैत २६ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ बढेको थियो ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार  १७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।