काठमाडौँ । बैशाख १५ गते, मंगलबार, निजी क्षेत्रका आवश्यकता, समस्या तथा सुझावहरु नजिकबाट बुझ्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघमा उपस्थित प्रतिनिधि सभाका सांसदहरुको टोलीलाई संघले स्वागत गरी भेटघाट गरेको छ ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त कार्यक्रममा प्रतिनिधि सभाकी सांसद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिकी कोषाध्यक्ष माननीय लिमा अधिकारी सहित प्रतिनिधि सभाका सांसद्हरु, माननीय लाल विक्रम थापा, माननीय यज्ञमणि न्यौपाने, माननीय सन्तोष राजवंशी, माननीय आशा झा लगायतको टोलीलाई स्वागत गरी भेटघाट तथा छलफल गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष राठीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरी नेपालको महत्वपूर्ण राजनीतिक परिवर्तनको प्रतीक स्वरुप गठन भएको नयाँ सरकारका माननीय सांसदहरु संघमा पाल्नु भएकोमा खुसी व्यक्त गर्दै उनीहरुलाई स्वागत गरी बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
सोही क्रममा वहाँले नेपालको वर्तमान सरकार नयाँ सोच, युवा नेतृत्व र परिवर्तनको आशासँग गठन भएको सरकार रहेकाले देशको आर्थिक विकास, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना तथा औद्योगिक वातावरण सुधारका कार्यहरुमा सरकारलाई सहकार्य गर्न संघ सदा झैँ तत्पर रहेको बताएका थिए । साथै संघले समसामयिक आर्थिक, औद्योगिक तथा व्यावसायिक मुद्दाहरुमा गर्ने छलफल तथा निजी क्षेत्रका आवाजहरुलाई माननीयज्यूहरुले नीति निर्माणको तहसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने विश्वास प्रकट गरेका थिए ।
सोही अवसरमा अध्यक्ष राठीले सरकारले खुल्ला सीमा क्षेत्रका अवैध कारोबार नियन्त्रण गर्नु पर्ने, आयात गर्नै पर्ने कम्तिमा ४८ वटा दैनिक उपभोग्य वस्तुहरुको भन्सार दर न्यून गर्नु पर्ने, स्वदेशी उद्योग र बजारलाई प्रोत्साहन गर्नु पर्ने, बहुदरको मु.अ.कर प्रणाली अवलम्बन गर्नु पर्ने, आर्थिक, फौजदारी लगायतका कसुरहरु छुट्याई थुन्ने र सुन्ने नीति छुट्याइनु पर्ने, विभिन्न मुलुकहरुसँग अन्तर्राष्ट्रिय व्यापारिक सम्झौताहरु बढाउनु पर्ने, श्रमिक सम्झौता सँगै व्यापारिक सम्झौता पनि लागू गर्नु पर्ने, औद्योगिक नगरी विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल, पर्यटन र खेलकुदका पूर्वाधारहरु निर्माण गर्नु पर्ने, मोरङ–सुनसरी औद्योगिक कोरिडोरको बढ्दो मानव वस्तीलाई ध्यानमा राखी बेग्लै औद्योगिक कोरिडोर निर्माण गर्नु पर्ने लगायतका सुझावहरु दिएका थिए ।












प्रतिक्रिया